काठमाडौं : झण्डै दुईतिहाइ बहुमतसहित बनेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारसँग सर्वसाधारणको ठूलो अपेक्षा छ । निकै लामो समयपछि पाएको स्थिर सरकारले सुशासनसँगै आर्थिक विकास, स्थायित्व र व्यवसायिक वातावरण बनाउनेमा आम लगानीकर्ताहरु उत्साहित छन् ।
लोकप्रिय अनुहार बालेन प्रधानमन्त्री बन्दा विज्ञको रुपमा डा. स्वर्णिम वाग्लेको अर्थमन्त्री कार्यकालमा ठूलो परिवर्तन आउने अपेक्षा आम सर्वसाधारण व्यवसायीहरुमा रहेको छ ।
तर, सरकार बनेको एक साता पनि नपुग्दै खास अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको लगातारको उधो गतिले भने झण्डै दुईतिहाइ बहुमतको बलियो सरकारमाथि नै प्रश्न खडा गरिदिएको छ ।
सेलिब्रेटी प्रधानमन्त्री र विज्ञ अर्थमन्त्रीलाई बजारले किन पत्याएन ?
प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. वाग्लेसहित रास्वपा क्याबिनेटले गत शुक्रबार सरकार सम्हालेको थियो । यसलगत्तै आइतबार खुलेको शेयरबजारमा पहिलो दिनमै नेप्से सूचकमा ७१ अंकमाथिको गिरावट आयो । दोस्रो दिन थप ४७ अंकले घट्दै नेप्से सूचक २ हजार ८३१ अंकमा ओर्लियो ।
यता कारोबार पनि पहिलो दिन १५ अर्ब रुपैयाँ बराबर भएकोमा दोस्रो दिन घटेर १२ अर्ब ९६ करोड रुपैयाँमा झर्यो ।
तेस्रो दिन मंगलबार बजार केही सम्हालिएको संकेत गर्दै १९ अंकको वृद्धि भयो । तथापि, यो खुशी २४ घण्टा पनि टिक्न सकेन । अर्थात् चौथो दिन पुनः नेप्सेमा ७४ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ७४.७३ अंकले घट्दै २ हजार ७७६ अंकमा झरेको छ ।
योसँगै चार दिनको अन्तरालमा नेप्से सूचक १७४ अंकमाथिले घटिसकेको छ । अर्थात् नेप्सेको यो गिरावट बालेन नेतृत्वको रास्वपा सरकार आएपछिको हो । यसले लोकप्रिय प्रधानमन्त्री बालेन शाह र विज्ञ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत लगानीकर्ताहरुले त्यति विश्वास नगरेको प्रस्ट हुन्छ ।
लगानीकर्ताहरु पाँच वर्षको स्थायी सरकार बनेपछि अझ अर्थमन्त्रीमा विज्ञ वाग्ले आएपछि अर्थ प्रणालीसहित पुँजीबजारको व्यापक सुधार हुने दाबी गरिरहेका थिए । तर, सरकार आए लगत्तैको पुँजीबजारको लगातारको गिरावटले भने यो अपेक्षालाई प्रारम्भिक चरणमै खारेज गरिदिएको छ ।
के भन्छन् जानकारहरु ?
पुँजीबजारका जानकार एवं लगानीकर्ता छोटेलाल रौनियार बजारमा ब्ल्याक मनी र अन्य मुद्दामा सरकारको आक्रामकताले लगानीकर्ताहरु डराउँदा बजार अस्वभाविक रुपमा घट्न पुगेको तर्क गर्छन् ।
उनले भने, ‘शेयरबजारको गिरावटमा धेरै कुराहरुले असर गरिरहेको छ । खासगरी शेयरबजारमा सम्भावित कालो धनको प्रयोगले पछिल्लो समय बजार प्रभावित बन्न पुगेको छ । सरकारले विभिन्न मुद्दामा एकपछि अर्को गर्दै पक्राउ र धरपकड गर्न थालेपछि लगानीकर्ताहरु डराएका छन् । बजार स्थिर नहुने डरमा लगानीकर्ताहरु हतोसाहित भइरहेका छन् । यसको असर बजारमा परेको हो ।’
रौनियारका अनुसार प्रारम्भिक चरणमा यस्तो समस्या देखा पर्नु स्वाभाविक भएपनि अन्ततः पुँजीबजारलाई बलियो र नियमसम्मत बलियो बनाउन सुधार आवश्यक छ । ‘क्यापिटल गेन ट्याक्स कम गर्ने, बैंकलाई शेयर खरिद–बिक्री गर्न अनुमति दिने र फाइनल ट्याक्सलाई सहज बनाउनुपर्छ । यस्तो सुधारले बजारमा विश्वास बढाउँछ । तर हाल सरकार र नियामक निकायहरूले आवश्यक पहल गरेको देखिँदैन’ उनले भने ।
यस्तै तर लगानीमैत्री नीति नल्याउँदा बजार पेनिक बन्न पुगेको लगानीकर्ता तारा प्रसाद फुल्लेलको भनाइ छ । फुल्लेलले भने, ‘लगानीकर्ता आफ्नो पोर्टफोलियोमा घाटा देख्दा पनि चुपचाप बस्न बाध्य छन् । किनकी बजारमा स्थिरता र विश्वसनीयता कायम गर्न सरकारले सकेको छैन । जबसम्म पुँजीबजारको सुधारमा राज्यले सन्तुलित र प्रोत्साहनको नीति लिँदैन बजार सुधारको सम्भावना देखिँदैन ।’
यसको अलवा जतिसुकै जानकार विज्ञ अर्थमन्त्री आएपनि लगानीकर्ताहरु उत्साहित हुन नसक्ने उनको भनाइ छ । त्यसो त बैंकको ब्याजदर कम र तरलता प्रशस्त भएको अवस्थामा पनि लगानीकर्ताहरू डराउनुमा यही मुख्य कारण रहेको उनी बताउँछन् ।
‘झण्डै दुईतिहाइको सरकार बनेपनि पुँजीबजारको सन्दर्भमा हालसम्म जिम्मेवार बनेको छैन । लगानीकर्ताहरू अझैँ गराइरहेको अवस्था छ । निरन्तर आफ्नो पोर्टफोलियो गुमिरहँदा पनि चुपचाप बस्न बाध्य छन् । तथापि, लगानीकर्ताले आवाज निरन्तर आवाज उठाइरहेपनि अहिले मात्र होइन पहिलेदेखि नै कुनै सुनुवाई भएको छैन’ उनले भने ।
नवनियुक्त सरकार अरु आर्थिक पाटो, नीतिगत सुधार र बजारको स्थायित्वभन्दा पनि पहिला दोषिमाथि कारबाहीको डन्डा चलाउनतर्फ केन्द्रित भएकाले पनि बजार थप आक्रान्त बन्न पुगेको फुल्लेल पनि तर्कछ ।
राजनीतिक तरंगले पुँजीबजार सधैँ प्रभावित
नयाँ सरकार गठन र सरकारको पछिल्लो गतिविधिले मात्र होइन सामान्य राजनीति घटनाले पनि नेपालको पुँजीबजार सधै प्रभावित बन्ने गर्छ । यो अहिलेको समस्या मात्र होइन, पहिले पनि यस्तै भइरहेकै हो ।
त्यसो त ठूलो राजनीतिक घटनाले मात्र होइन, सामान्य भन्दा सामान्य वक्तव्यबाजी, राजनीतिक स्ट्रनले पनि नेपालको पुँजीबजार प्रभावित हुने गरेको छ । जसका कारण नेपाली पुँजीबजारलाई भोलाटायल र अस्थिर भन्ने गरिएको छ ।
गत भदौं २३ र २४ गतेको जेन–जी आन्दोलनपछि त झन् शेयरबजारमा ठूलै पहिरो गयो । नेप्से सूचक एकैदिन ६ प्रतिशतले घटेर तेस्रो पटक सर्किट लागेको थियो ।
लगानीकर्ता अत्तालिएपछि नेप्सेमा पहिरो गएको थियो । सो दिन नेप्से परिसूचकमा देखिएको लगातारको नकारात्मक सर्किटपछि अर्थमन्त्रालयले पनि चासो देखाएको थियो । जतिबेला पुँजीबजार सुधारका लागि भन्दै अर्थ मन्त्रालयले पुँजीबजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन नै गठन गरेको थियो ।
तत्कालिन अर्थमन्त्री रामेश्वर खनालले असोज ३ गते नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरे ।
अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामार्फत गठित उक्त कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेस गरेको थियो, जुन कार्यदलको सिफारिसमा नेपाल धितोपत्र बोर्डले शेयरबजारमा अन्तिम १५ मिनेटको भारित औषत गणाना विधि नै स्थगित गर्यो ।
छ महिनाअघिदेखि लागू भएको सो व्यवस्थाअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू गरेको थियो । यो व्यवस्था २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
Advertisment