Below Menu
Below Menu

नोबेल मेडिकल कलेजको व्यापार तीन अर्बमाथि, स्वास्थ्य बीमा र क्यान्सर उपचारले थप्यो आम्दानी 

नोबेल मेडिकल कलेजको व्यापार तीन अर्बमाथि, स्वास्थ्य बीमा र क्यान्सर उपचारले थप्यो आम्दानी 

काठमाडौं : नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लिमिटेडको आम्दानी पछिल्लो वर्ष उल्लेखनीय रुपमा बढेपनि नाफा मार्जिनमा दबाब देखिएको छ ।

विराटनगरस्थित शिक्षण अस्पतालले सन् २०२५ मा तीन अर्ब ४१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ३०.६० प्रतिशतले बढी हो ।

 सन् २०२४ मा कम्पनीले दुई अर्ब ६५ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा २ अर्ब २८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ९० करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । उक्त आम्दानी पूर्ण स्वामित्वमा रहेका सहायक कम्पनीहरू समेत समेटिएको छ ।

विशेषगरी बिरामीको संख्या बढेसँगै स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन आएसँगै अस्पतालको आम्दानी बढेको हो । यसका साथै नोबेल क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सुरु भएछि अस्पतालको आय स्रोत थप बढेको  कम्पनीले जनाएको छ । 

त्यसैगरी प्रमुख चिकित्सा कार्यक्रमहरूमा उच्च भर्ना दर कायम रहनुका साथै चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनका सीट संख्या वृद्धिले पनि आम्दानी बढेको कम्पनीको भनाइ छ । 

तथापी व्यापार बढेपनि अस्पतालको सञ्चालन नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा ३८ प्रतिशत रहेको यस्तो नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा घटेर ३३ प्रतिशतमा झरेको छ । खर्चवृद्धि, सेवा विस्तार र सञ्चालन लागत बढ्नुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । 

अस्पतालको औसत बेड उपयोग (अकुपेन्सी) दर करिब ७१ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको ७३ प्रतिशतको तुलनामा कम हो । यद्यपी कुला शैय्या संख्या ७५०बाट बढाएर ७७५ पुर्याइएको छ । 

चिकित्सा शिक्षातर्फ कम्पनीले यस शैक्षिक वर्षदेखि एमबीबीएस अध्ययनमा सिट संख्या बढाएर १०० बाट १२० पुर्याएको छ । विशेषगरी विदेशी विद्यार्थीबाट लिइने उच्च शुल्कले कम्पनीको आम्दानीमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।  

यद्यपि, पछिल्लो समय कम्पनीको वित्तीय अवस्थामा दबाब बढ्दै गएको छ । नयाँ लगानी र ऋण पुनःसंरचनाका लागि थप कर्जा लिईएकाले ऋण भार बढेको छ । 

त्यसमाथि उच्च दरमा लाभांश वितरण गर्ने नीति अन्तर्गत करिब ८४ प्रतिशत नाफा शेयरधनीलाई वितरण गरिँदै आएको छ । जसका कारण आन्तरिक पूँजी सुदृढीकरणमा दबाब परेको छ । यसले कम्पनीको गियरिङ अनुपात बढाएको छ ।

सन् २००३ मा स्थापना भएको यो संस्था काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी चिकित्सा तथा स्वास्थ्यसम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको छ । कञ्चनबारी, विराटनगरमा अवस्थित यस कलेजले डीएम, एमसीएच, एमएस, एमडी, एमबीबीएस, बीडीएस, बीपीटी, बी.एस्सी. नर्सिङ तथा एमएलटी÷बीएमएलटी जस्ता विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 
कम्पनीले सेवा विस्तार गर्दै विभिन्न सहायक कम्पनीहरू सञ्चालनमा ल्याएको छ । नोबेल एड्भान्स्ड इन्भेस्टमेन्ट र नोबेल अस्पताल फार्मेसी पूर्ण स्वामित्वमा रहेका कम्पनीहरू हुन् । साथै, कम्पनीले काठमाडौँ मेडिकल कलेजमा करिब २० प्रतिशत लगानी गरेको छ ।

कम्पनीले दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि पाँच अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । अस्पतालले दीर्घकालिन कर्जाका लागि चार अर्ब ९२ करोड १० लाख र अल्पकालिन कर्जाका लागि ५७ करोड ९० लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । 
 

Advertisment

थप समाचार