काठमाडौं : विभिन्न प्रकारका डन्डी उत्पादन गर्ने कम्पनी जगदम्बा इन्टरप्राइजेजको व्यापार पछिल्ला वर्षहरुमा निरन्तर रुपमा घटेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशतले कम हो । सन् २०२४ मा कम्पनीले १४ अर्ब ६९ करोडको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
खासगरी बजारमा इस्पातको मूल्य घट्नु र निर्माण गतिविधिमा आएको सुस्तता कारणले कम्पनीको व्यापार प्रभावित भएको हो ।
पछिल्लो समय निर्माण क्षेत्रको सुस्त मागका कारण कम्पनीको आम्दानी र नाफामा पनि दबाब परेको कम्पनीले जनाएको छ । सन् २०२४ मा ९.०५ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन पनि घटेर सन् २०२५ मा ६.४२ प्रतिशतमा कायम भएको छ ।
यस अवधिमा कम्पनीको समग्र गियरिङ अनुपात ४.६४ गुणा पुगेको छ । त्यस्तै, ब्याज भुक्तानी क्षमता १.३२ गुणा मात्र रहेको छ भने । कुल ऋण र नगद आम्दानीबीचको अनुपात पनि ५२.२७ गुणा पुगेको छ ।
कम्पनीले प्रयोग गर्ने अधिकांश कच्चा पदार्थ भारतबाट आयात गरिन्छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र विदेशी विनिमय दरको घटबढले पनि कम्पनीको कारोबारमा असर परेको हो । सन् २०२५ मा कम्पनीले विदेशी विनिमय घाटा स्वरूप करिब ३ करोड ४० लाख ४ मिलियन रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
उद्योगले विभिन्न आकारका स्टिलको उत्पादन गर्दै आएको छ । जसमा टीएमटी बार र एमएस ब्ल्याक पाइप रहेका छन् । उद्योगले जगदम्बा र जगशक्ति ब्रान्डमा विभिन्न स्टिलजन्य उत्पादहरु बजारमा ल्याएको छ ।
पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लकप्लेट, प्रिफेब्रिकेटेड बिल्डिङ कम्पोनेन्ट र विभिन्न स्टिल पोलहरू निर्माण गर्दै आएको छ ।
जगदम्बा इन्टरप्राइजेज सन् २००१ मा स्थापना भएको उद्योग हो । कम्पनीले पर्साको जीतपुरस्थित कारखानाबाट एम.एस. ब्ल्याक तथा ग्याल्भनाइज्ड पाइप उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६ सय टन छ । उद्योग वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट १५ किलोमिटर दुरी बाराको जितपूरमा छ ।
कम्पनीको दैनिक कारोबार अनिलकुमार रुंगटा र विशाल पटवारीले निर्देशकाको रुपमा हेर्दै आएको छन् । सञ्चालकहरु सिमेन्ट, निर्माण सामाग्रीको व्यापार र पर्यटन व्यवसायमा संलग्न छन् ।
कम्पनीले दीर्घकालिन तथा अल्पकालिन कर्जाका लागि १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लािग एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको हो ।
Advertisment