Below Menu
Below Menu

सगरमाथा फेदीमा रहेको अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालाले कसरी काम गर्छ?

सगरमाथा फेदीमा रहेको अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालाले कसरी काम गर्छ?

काठमाडौं : सगरमाथाको फेदीमा १३ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आएपछि यसको प्रभावकारिता बढ्न थालेको छ।
सगरमाथाको फेदीमा अवस्थित यो प्रयोगशाला सन् २०१३ देखि बन्द रहेकामा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत पुनः सञ्चालनमा आएको हो। दुई बर्षअघि पुनः संचालनमा आएको यो प्रयोगशालामार्फत महत्वपूर्ण कामहरु हुँदै आएको छ ।

सोलुखुम्बुको लोबुचेमा ५०५० मिटरको उचाइमा रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला उच्च भू-भागको अध्ययन गर्ने अत्याधुनिक अनुसन्धान केन्द्र हो ।
प्रयोगशालामा कार्यरत व्यवस्थापक तथा प्राविधिक कर्मचारी काजी विष्टका अनुसार वायुमण्डलीय प्रदूषण, जलवायु परिवर्तन, मौसम तथा हिमाली वातावरणमा पर्ने असरबारे अध्ययन गरिन्छ । साथै, मौसमसम्बन्धी तथ्यांक हावाको चाप, तापक्रम, आद्र्रता, वर्षा तथा सौर्य विकिरण रियल टाइममा संकलन र अद्यावधिक गरिन्छ।

प्रयोगशालामा दुई दशकभन्दा बढी समयदेखि कार्यरत विष्ट भन्छन्, ‘मेरो घर भोजपुर हो । म पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशालामा काम गर्छु र यहाँ काम गरेको करिब २२ वर्ष हुन लाग्यो । म यहाँ म्यानेजर तथा प्राविधिक कर्मचारीका रूपमा कार्यरत छु ।’ उनका अनुसार यो परियोजना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सिएनआर) इटालीको संयुक्त सहकार्यमा सञ्चालन हुँदै आएको छ ।

विष्टले प्रयोगशालामा हुने अनुसन्धानबारे थप्दै भने, ‘यहाँ विभिन्न प्रकारका प्रदूषण जस्तै ब्ल्याक कार्बन, मरकरी लगायत र त्यसले हिमालमा पार्ने प्रभावबारे अध्ययन गर्छौं । साथै मौसमसम्बन्धी तथ्यांक, जस्तै तापक्रम, हावाको चाप, आद्र्रता, वर्षा आदिको रियल टाइम डाटा संकलन हुन्छ । हिमालय क्षेत्रमा रहेका टेक्टोनिक प्लेटहरूको गतिविधिबारे पनि अध्ययन गर्छौं । भारतीय प्लेट चलायमान भएकाले तिब्बती प्लेटलाई धकेल्छ, जसका कारण प्रत्येक वर्ष करिब केही सेन्टिमिटरका दरले भू-भाग सर्ने प्रक्रिया भइरहेको छ ।’

सगरमाथा विश्वकै आकर्षणको केन्द्र भएकाले यहाँ दैनिक रूपमा विभिन्न देशका पर्यटकहरू आउने गर्छन् । उनीहरू बेस क्याम्प र कालापत्थर घुम्न आउने क्रममा पिरामिड प्रयोगशालाबारे जान्न र अवलोकन गर्न पनि यहाँ पुग्ने गर्छन् । कहिलेकाहीँ १०–१२ जना, कहिलेकाहीँ २० जना र कहिलेकाहीँ ५० जनासम्म आगन्तुकहरू आउने गरेको उनले बताए ।

पिरामिड प्रयोगशालाको पुनः सञ्चालनसँगै सगरमाथा क्षेत्रको वातावरण, प्रदूषण र जलवायु परिवर्तनसम्बन्धी अध्ययन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । उनका अनुसार प्रयोगशालामा भूकम्प मापन केन्द्रसमेत रहेको छ । ‘यहाँबाट भूकम्प कहाँ गयो, कति गहिराइमा गयो भन्ने अध्ययन गर्छौं, तर हामी भविष्यवाणी भने गर्दैनौं,’ उनले भने ।

हिमालय क्षेत्रमा टेक्टोनिक गतिविधिबारे पनि अध्ययन भइरहेको उल्लेख गर्दै उनले भने, ‘भारतीय प्लेट र तिब्बती प्लेटको गतिविधिका कारण हिमालहरू बन्ने र परिवर्तन हुने प्रक्रिया निरन्तर चलिरहेको छ ।’ उनका अनुसार सगरमाथा क्षेत्रमा आउने पर्यटक तथा अनुसन्धानकर्ताहरू पनि प्रयोगशाला अवलोकनका लागि पुग्ने गरेका छन् ।

यसैगरी, प्रयोगशालामा उच्च भू–भागमा स्थापना गरिएको भूकम्प मापन केन्द्रमार्फत भूकम्पको दूरी, गहिराइ र अवस्थाबारे अध्ययन हुने गरेको छ ।हिमालय क्षेत्रमा टेक्टोनिक प्लेटहरूको गतिविधि, विशेषगरी भारतीय प्लेट र तिब्बती प्लेटबीचको अन्तरक्रियाले हिमालहरूको बनावट र परिवर्तनमा पार्ने प्रभावबारे समेत अनुसन्धान गरिँदै आएको छ ।

पुनः सञ्चालनसँगै पिरामिड प्रयोगशालाबाट सगरमाथा क्षेत्रको वातावरणीय अवस्था, प्रदूषणको स्तर र जलवायु परिवर्तनका प्रभावबारे महत्वपूर्ण वैज्ञानिक तथ्यांक संकलन हुने अपेक्षा गरिएको छ ।

प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सिएनआर) परियोजना अन्तर्गत स्थापना भएको थियो ।

सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प बनेको थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने लोबुचेमा अवस्थित यस केन्द्रमा उच्च भू–भागसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरिन्छ।

Advertisment

थप समाचार