काठमाडौं : इक्रा नेपालले प्रभु बैंक लिमिटेडको क्रेडिट रेटिङ घटाएको छ । यो रेटिङले बैंकको वित्तीय अवस्था, कर्जा गुणस्तर र समग्र जोखिम प्रोफाइल चिन्ताजनक अवस्थामा रहेको देखाएको छ ।
इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार बैंकको इस्युअर रेटिङ ‘बीबीबी माइनस’ बाट घटाएर ‘बीबी प्लस’ मा झारिएको हो । रेटिङ घटेसँगै बैंकको रेटिङ नकारात्मक प्रभावसहितको निगरानीमा राखिएको छ। यसैगरी, बैंकले जारी गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको रेटिङ पनि ‘बीबीबी माइनस’ बाट घटेर ‘बीबी प्लस’ मा झरेको छ।
रेटिङ एजेन्सीका अनुसार बैंकको कर्जा गुणस्तरमा आएको निरन्तर गिरावटका कारण रेटिङ घटाइएको हो। सन् २०२६ को मध्य जनवरीसम्म बैंकको ग्रस नन–परफर्मिङ लोन (एनपीएल) ७.९४ प्रतिशत पुगेको छ । जुन एक वर्षअघि ५.०६ प्रतिशत मात्र थियो र उद्योगको औसतभन्दा पनि माथि छ।
अझै, कुल कर्जा पोर्टफोलियोको करिब ३९ प्रतिशत हिस्सा कुनै न कुनै प्रकारको ढिलाइमा रहेको छ। विशेषगरी, गैर–एनपीएल कर्जामध्ये ठूलो हिस्सा ६१ देखि ९० दिन ढिला भएको ‘बोर्डरलाइन’ अवस्थामा रहेकाले निकट भविष्यमा थप खराब कर्जा बढ्ने जोखिम उच्च देखिएको छ।
कर्जा असुलीमा आएको कमजोरी र नयाँ खराब कर्जाका लागि पर्याप्त प्रावधानको अभावले बैंकको दीर्घकालीन वित्तीय स्थायित्व (सोल्भेन्सी) मा पनि गम्भीर असर परेको छ। बैंकको नेट एनपीएल अनुपात र पूँजीबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिँदै गएको छ, जसले बैंकको जोखिम वहन गर्ने क्षमता कमजोर बनाएको छ।
यससँगै बैंकको टियर–१ पूँजी अनुपात ८.६८ प्रतिशतमा झरेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ८.५ प्रतिशतभन्दा निकै नजिक छ। पूँजीको यस्तो कमजोर अवस्थामा थप कर्जा बिग्रिएमा वा प्रावधान बढाउनुपरेमा बैंक नियामकीय सीमाभन्दा तल झर्ने जोखिमसमेत देखिएको छ।
यसका साथै बैंकको नाफामा पनि दबाबमा परेको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा बैंकको सम्पत्ति प्रतिफल ०.५० प्रतिशत र इक्विटी प्रतिफल ५.९७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ०.७३ प्रतिशत र ८.०१ प्रतिशत थियो।
बढ्दो कर्जा नोक्सानी खर्च र घट्दो ब्याज आम्दानी (नेट इन्ट्रेस्ट मार्जिन) का कारण बैंकको नाफा क्षमतामा उल्लेखनीय गिरावट आएको रिपोर्टमा उल्लेख छ ।
यसका साथै बैंकमा कर्जा र निक्षेप दुवैमा एकाग्रता जोखिम पनि उच्च देखिएको छ। शीर्ष २० ऋणी समूहले बैंकको टियर–१ पूँजीको करिब १९५ प्रतिशत बराबर कर्जा लिएका छन् भने शीर्ष २० निक्षेपकर्ताले कुल निक्षेपको करिब २१ प्रतिशत हिस्सा ओगटेका छन्। यस्तो अवस्था कुनै ठूला ग्राहकमा समस्या आउँदा बैंकलाई ठूलो झट्का लाग्न सक्ने संकेत हो।
यद्यपि, बैंकको तरलता अवस्था भने सन्तोषजनक रहेको मूल्यांकन गरिएको छ। बैंकको नेट लिक्विड एसेट अनुपात करिब ३९ प्रतिशत र कर्जा–निक्षेप अनुपात करिब ७१ प्रतिशत रहेको छ, जुन सुरक्षित सीमाभित्र पर्छ। साथै, सस्तो निक्षेपको हिस्सा बढेर करिब ५२ प्रतिशत पुगेकोले बैंकको लागत केही हदसम्म नियन्त्रणमा राख्न मद्दत पुगेको छ।
बैंकसँग सम्बन्धित केही व्यवस्थापकीय र नियामक जोखिम पनि बाँकी रहेका छन्। विशेषगरी, पूर्व व्यवस्थापनसँग जोडिएको भनिएको सम्बन्धित पक्षलाई गरिएको कर्जा सम्बन्धी अनुसन्धान अझै निष्कर्षमा नपुगेको छ।
अर्कोतर्फ, मध्यपूर्व क्षेत्रमा बढ्दो भू-राजनीतिक तनावका कारण त्यहाँबाट आउने रेमिट्यान्समा असर पर्न सक्ने सम्भावनाले पनि बैंकको निक्षेप वृद्धि र समग्र वित्तीय अवस्थामा दबाब पर्न सक्ने देखिन्छ।
बैंकले देशभर ३१२ वटा शाखा, ६९ वटा एक्सटेन्सन काउन्टर र २६० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। बैंकको शेयर संरचना अनुसार प्रवर्द्धक र सर्वसाधारणबीच करिब ५१ः४९ अनुपातमा स्वामित्व बाँडिएको छ भने बैंकको शेयर नेपाल स्ट एक्सचेञ्ज नेप्सेमा सूचीकृत छ। बैंकको केन्द्रीय कार्यालय काठमाडौंको बाबरमहलमा अवस्थित छ।
Advertisment