काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले देशकै प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ का लागि स्टल दर्ता प्रक्रिया सुरु गरेको छ। अटो शोको १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म आयोजना हुँदैछ।
सवारीसाधन, स्पेयर पार्ट्स, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ/संस्था र कम्पनीहरूको सहभागिता रहने उक्त प्रदर्शनीलाई नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल मेला मानिन्छ।
नाडा अटो शो मूल आयोजक समितिका सभापति अनुपकुमार बरालका अनुसार स्टल दर्ता जेठ १८ गतेदेखि २६ गतेसम्म खुला रहनेछ। उनका अनुसार अटो शोले स्वदेशी तथा विदेशी ब्रान्ड, आयातकर्ता, वितरक र सेवा प्रदायकहरूलाई आफ्ना नयाँ उत्पादन, प्रविधि तथा सेवाहरू सार्वजनिक गर्ने प्रभावकारी मञ्च उपलब्ध गराउनेछ।
यस वर्षको प्रदर्शनीमा हजारौँ सर्वसाधारण, उद्योगी–व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। स्टल दर्ता, शुल्क तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत जानकारी व्यवस्थापन कम्पनीमार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ।
नाडाले इच्छुक संस्था तथा कम्पनीहरूलाई समयमै स्टल सुनिश्चित गरी नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको हिस्सा बन्न आग्रह गरेको छ।
Advertisment