Below Menu
Below Menu

कोपोमिस अपडेट नगरे करचुक्ता नपाइने, अध्यादेशले सहकारी अभियान कमजोर बनाउने चिन्ता

कोपोमिस अपडेट नगरे करचुक्ता नपाइने, अध्यादेशले सहकारी अभियान कमजोर बनाउने चिन्ता

भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस तालिम’ सम्पन्न भएको छ ।

भक्तपुरको क्लब बागमतीमा जेठ २४ गते आयोजित उक्त तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग, डिजिटल प्रणालीबारे विस्तृत छलफल भएको छ ।

तालिममा कोपोमिस प्रणालीमा सूचना र तथ्याङ्क अद्यावधिक (डाटा अपडेट) नगरे सहकारीहरूले करचुक्ता प्रमाणपत्र र दृष्टि बन्धक रोक्का सुविधा समेत नपाउने विषयलाई मुख्य रूपमा उठाइएको छ ।  

संघका उपाध्यक्ष जगनाथ प्रजापतिले तालिममा सिकेका प्राविधिक ज्ञानलाई आ-आफ्नो कार्यालयको दैनिक कार्य सम्पादनमा अनिवार्य उपयोग गर्न निर्देशन दिए ।

हालै आएको अध्यादेशका कारण कर्मचारीहरूलाई काम गर्न गाह्रो भइरहेको अवस्थामा समसामयिक विषयको ज्ञान झन् आवश्यक हुने उनको भनाइ थियो । अध्यादेशले सहकारी संघहरुलाई कमजोर बनाउनु सहकारी संस्था र समग्र सहकारी अभियानलाई नै कमजोर बनाउने उनले बताए । 

संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अहिलेको जटिल परिस्थितिमा सहकारी संस्थाहरू कानुन र प्रविधि दुवै कुरामा सचेत हुनुपर्ने बताए । संघले सधैं सहकारीहरूलाई विभिन्न नीति–नियमहरूको बारेमा जानकारी दिँदै आएको र यस तालिमले कोपोमिसबारे बुझ्न थप मद्दत पुर्याएको विचार उनले राखे । 
 
कार्यक्रममा बोल्दै भक्तपुर बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी क्षेत्रमा प्रविधिको महत्व बढ्दै गएको र संघले पनि कोपोमिस लगायतका विभिन्न प्राविधिक तालिम कार्यक्रम गर्दै आएको जानकारी दिए । हालै जारी गरिएको नयाँ अध्यादेशका कारण सहकारी क्षेत्रमा गम्भीर असर परेको उनले औंल्याए । 

“अध्यादेशका कतिपय प्रावधानले गर्दा अहिले सहकारी संस्थाहरूलाई कमजोर बनाउने निश्चित छ” प्रमुख कार्यकारी अधिकृत धोजुले भने । उनले कर्मचारीहरूलाई वर्तमान अध्यादेश र कानुनी व्यवस्थाबारे पूर्ण रूपमा जानकार हुन आग्रह गरे । 
 
तालिमका प्रशिक्षक सहकारी विभागका ई. प्रेम प्रसाद थारुले कोपोमिस जस्ता प्राविधिक प्रणालीहरू निरन्तर अभ्यास गरेर मात्र पोख्त हुन सकिने बताउनुभयो । विस्तारै र नियमित रूपमा कार्य गर्दा प्रयोगात्मक कुराहरू सहजै सिक्दै जान सकिने उनको सुझाव थियो ।  

तालिमको समापन सत्रमा संघको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिका सदस्य योगेन्द्र बहादुर खर्बुजाले व्यस्त समयका बाबजुद सहभागी भई प्रविधि सिक्न उत्सुकता देखाएकोमा सबैलाई धन्यवाद व्यक्त गरे । 

उपसमितिका सदस्य अनिलकुमार सुवालले सफलतापूर्वक सञ्चालन गर्नुभएको उक्त प्राविधिक तालिममा संघमा आबद्ध सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरू गरी कुल ४३ जनाको सहभागिता रहेको थियो ।
 

Advertisment

थप समाचार