एजेन्सी : स्पेनमा आकस्मिक आमनिर्वाचनका लागि मतदान सुरु भएको छ। निर्धारित समयभन्दा आठ महिनाअघि आह्वान गरिएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजको समाजवादी पार्टी (पीएसओई) र कन्जरभेटिभ पिपुल्स पार्टी (पीपी) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रधानमन्त्री सान्चेजले संसद्मा सरकारले प्रस्ताव गरेका आवाससम्बन्धी कानुन संशोधनका योजनाहरू अस्वीकृत भएपछि निर्धारित समयभन्दा आठ महिनाअघि नै निर्वाचन घोषणा गरेका थिए। यस निर्वाचनलाई उनको राजनीतिक भविष्य र स्पेनको आगामी सरकारको स्वरूप निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
निर्वाचनपूर्व सार्वजनिक भएका विभिन्न जनमत सर्वेक्षणले सान्चेजको समाजवादी पार्टीलाई विपक्षी नेता अल्बर्टो नुनेज फेइखो नेतृत्वको पिपुल्स पार्टीभन्दा केही पछाडि देखाएका छन्। यद्यपि शुक्रबार आफ्ना समर्थकलाई सम्बोधन गर्दै सान्चेजले निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।
पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जिते पनि सरकार गठनका लागि उसलाई दक्षिणपन्थी दल भोक्सको समर्थन आवश्यक पर्न सक्ने अनुमान गरिएको छ। सान्टियागो अबास्काल नेतृत्वको भोक्सले सरकारमा सहभागिता जनाएमा स्पेनको राष्ट्रिय राजनीति र युरोपेली शक्ति सन्तुलनमा समेत प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।
स्पेनका लाखौँ मतदाताले आइतबार स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान गर्न पाउनेछन्। मतदान केन्द्र बन्द भएको करिब एक घण्टापछि प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थाल्ने अपेक्षा गरिएको छ। त्यसपछि रातभर मतगणना जारी रहने र सोमबारसम्म आधिकारिक नतिजा आउने अनुमान छ।
यसपटकको निर्वाचन अभियानमा आवासको अभाव र महँगो घरभाडा प्रमुख चुनावी मुद्दाका रूपमा देखिएका छन्। त्यससँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, जीवनयापनको बढ्दो लागत र आप्रवासनका विषयले पनि चुनावी बहसमा प्राथमिकता पाएका छन्। विशेषगरी युवाहरू र न्यून आय भएका परिवारका लागि किफायती आवासको उपलब्धता प्रमुख चिन्ताको विषय बनेको छ।
सन् २०१८ देखि स्पेनको प्रधानमन्त्री रहँदै आएका सान्चेज अन्तर्राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली नेताका रूपमा स्थापित भएका छन्। गाजामा इजरायलको सैन्य कारबाहीप्रति उनले व्यक्त गरेको विरोध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति गरेको आलोचनाले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्याएको छ।
तर, घरेलु राजनीतिमा भने सान्चेजमाथि दबाब बढ्दै गएको छ। भ्रष्टाचारसम्बन्धी विवाद, आवास संकट तथा पछिल्लो समय भएका दुई घातक रेल दुर्घटनाले उनको सरकारको आलोचना बढाएको छ। यी घटनाले निर्वाचनमा उनको पार्टीको सम्भावनालाई समेत प्रभावित पार्न सक्ने देखिएको छ।
यदि सान्चेजको समाजवादी पार्टीले संसद्मा सबैभन्दा धेरै सिट जिते पनि वामपन्थी दलहरूबीच गठबन्धन निर्माण गर्न उनलाई कठिन हुन सक्ने आकलन गरिएको छ। अर्कोतर्फ, फेइखो नेतृत्वको पिपुल्स पार्टीले सरकार गठन गर्ने अवसर पाएमा भोक्सको समर्थन निर्णायक बन्नेछ।
भोक्सले कल्याणकारी सुविधा वितरणमा स्पेनी नागरिकलाई प्राथमिकता दिने ‘राष्ट्रिय प्राथमिकता’ नीति र अर्थतन्त्रमा योगदान नगर्ने विदेशी नागरिकलाई देशबाट फिर्ता पठाउने ‘रिमाइग्रेसन’ नीतिको समर्थन गर्दै आएको छ। उसका यी नीतिलाई लिएर स्पेनमा राजनीतिक तथा सामाजिक बहस हुँदै आएको छ।
आलोचकहरूले भोक्सको विचारधारामा स्पेनका पूर्वतानाशाह फ्रान्सिस्को फ्रान्कोको शासनकालका केही पक्षसँग समानता रहेको टिप्पणी गर्दै आएका छन्। तर, भोक्सले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ।
स्पेनका चार क्षेत्रीय सरकारमा यसअघि नै पिपुल्स पार्टी र भोक्सले मिलेर सत्ता सञ्चालन गरिसकेका छन्। त्यसैले केन्द्र सरकारमा पनि यी दुई दलबीच सहकार्य भएमा आप्रवासन, सामाजिक कल्याण, राष्ट्रिय पहिचान तथा युरोपेली नीतिमा महत्त्वपूर्ण परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
शुक्रबारदेखि औपचारिक चुनावी प्रचारप्रसार रोकिएको थियो। स्पेनको निर्वाचन परम्पराअनुसार शनिबारलाई मतदाताले उम्मेदवार र दलका एजेन्डाबारे स्वतन्त्र रूपमा विचार गर्ने दिनका रूपमा राखिएको थियो। आइतबारको मतदानसँगै अब स्पेनको आगामी राजनीतिक दिशा तय हुने अपेक्षा गरिएको छ।