काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार बिहान ११ बजे बस्ने भएको छ। १८ औँ बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि औपचारिक छलफल सुरु गर्नुका साथै विभिन्न विधेयकहरू सदनमा पेश गरिने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावपछि बजेटमाथिको सामान्य छलफल औपचारिक रूपमा सुरु हुनेछ। छलफलका क्रममा सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिनेछन्।
त्यसैगरी, व्यवस्थापन कार्यअन्तर्गत सरकारका महत्वपूर्ण आर्थिक तथा मौद्रिक नीतिसम्बन्धी विधेयकहरू सदनमा प्रवेश गर्ने तयारी छ। अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक संसद्मा पेस गर्नेछन्। साथै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३’ पनि सदनमा औपचारिक रूपमा प्रस्तुत हुनेछन्।
बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी प्रस्तावहरू पनि अघि बढाइनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महत्वपूर्ण महासन्धीहरू सदनमा पेस गर्नेछन्। तीमध्ये श्रम निरीक्षणसम्बन्धी महासन्धी (१९४७, नं. ८१) र बाध्यकारी श्रमसम्बन्धी प्रोटोकल (२०१४, नं. २९) रहेका छन्।
यसैबीच, राष्ट्रिय सभाअन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्ने भएको छ।
Advertisment