काठमाडौं : सांसद पद्मा अर्यालले चीनबाट आयात हुने बीवाईडी गाडीको आयात प्रक्रियामा घोटाला भएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भन्सारमा सेटिङ मिलाएर, कागजात हेरफेर गरी गाडी नआउँदै रातारात घोटालाको खेल भएको दाबी गरिन्। बीवाईडी गाडी आयात प्रकरणमा शंका मात्र नभई घोटाला भएको स्पष्ट संकेत देखिएको भन्दै उनले यसबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरिन्।
अर्यालले रातारात करछली गरेर राज्यलाई ठगी गरिएको तथा आर्थिक अपराध भएको आरोपसमेत लगाइन् । “चीनबाट आउने बीवाईडी गाडीको घोटाला सडकभर छताछुल्ल भएको छ। भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर गाडी नआउँदै रातारात घोटालाको खेल भएको छ। यो गम्भीर विषय हो,” उनले भनिन्।
उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकका पृष्ठ तथा करका दरसम्बन्धी विवरणमा हेरफेर भएको आशंका पनि व्यक्त गरिन्। संसदमा एउटा अंक प्रस्तुत गर्ने र मन्त्रालयमा पुगेर अर्को अंक राख्ने कार्य भएको आरोप लगाउँदै उनले यस्तो काम कुन उद्देश्यले गरिएको हो भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताइन्।
आर्थिक विधेयकमा भएको कथित हेरफेर र करका दररेटमा भएको फेरबदलका विषयमा सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न उनले सरकारसँग माग गरिन्।
Advertisment