काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई लक्षित गरी अवैधानिक निर्वाचन भइरहेको भन्दै फैलाइएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा महासंघ गठन, विधान संशोधन तथा निर्वाचनसम्बन्धी सबै निर्णयहरू कार्यसमितिले सर्वसम्मत रूपमा पारित गरेको उल्लेख गरिएको छ। ती निर्णयहरूमा कसैले पनि असहमति (नोट अफ डिसेन्ट) नजनाएको दाबी गर्दै अहिले गलत सूचना प्रवाह भइरहेको जनाएको छ।
विज्ञप्तिअनुसार २०५७ सालमा स्थापना भएको इप्पानमा हाल ६८३ सदस्य रहेका छन्। संस्थाले जेठ २९ गते २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आयोजना गर्ने तयारी पूरा गरिसकेको छ।
इप्पानले महासंघमा जाने वा विद्यमान विधानअनुसार नियमित अधिवेशन गर्ने विषयमा विभिन्न बैठकहरूमा छलफल भएको र कानुनी तथा प्रशासनिक जटिलताका कारण तत्काल महासंघ गठन सम्भव नभएको निष्कर्ष निकाल्दै नियमित साधारणसभा र अधिवेशन अगाडि बढाउने निर्णय गरिएको जनाएको छ।
त्यसैगरी, आगामी साधारणसभामा विधान संशोधनको प्रस्ताव समेत पेश गरिने भएको छ। प्रस्तावित संशोधनअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइने, अध्यक्ष पदमा उम्मेदवार बन्न कार्यसमितिमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने तथा २७ सदस्यीय कार्यसमिति गठन गर्ने व्यवस्था समावेश गरिएको इप्पानले जनाएको छ।
विज्ञप्तिमा निर्वाचन प्रक्रिया विधानअनुसार अगाडि बढिसकेको, केही पदमा निर्विरोध निर्वाचन भइसकेको तथा अन्य पदका लागि उम्मेदवारीको अन्तिम नामावली समेत प्रकाशित भइसकेको उल्लेख छ। यस्तो अवस्थामा इप्पानले अवैधानिक निर्वाचन गरिरहेको वा महासंघसम्बन्धी निर्णय कार्यसमितिले खारेज गरेको भन्ने प्रचार पूर्ण रूपमा गलत भएको दाबी गरिएको छ।
इप्पानले महासंघ गठनसम्बन्धी प्रतिवेदन र विधान संशोधन प्रस्ताव आगामी साधारणसभामा पेश गरिने जानकारी दिँदै सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ। साथै जेठ २९ गते हुने साधारणसभा, महासंघसम्बन्धी छलफल, विधान संशोधन तथा निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै सदस्यलाई अनुरोध गरेको छ।
Advertisment