Below Menu
Below Menu

चिया निर्यात ठप्प भएपछि महासंघद्वारा सरकारको ध्यानाकर्षण, कूटनीतिक निकास खोज्न माग 

चिया निर्यात ठप्प भएपछि महासंघद्वारा सरकारको ध्यानाकर्षण, कूटनीतिक निकास खोज्न माग 

काठमाडौं : नेपाली चिया उद्योग भारतद्वारा सिर्जित गैर-भन्सार अवरोधका कारण गम्भीर संकटमा परेको भन्दै नेपाल निर्यात व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको अर्थतन्त्र, कृषि तथा विशेषगरी पूर्वी पहाडी क्षेत्रको जीविकोपार्जनको मुख्य आधारका रूपमा रहेको चिया उद्योग हाल जटिल परिस्थितिमा पुगेको जनाएको छ।

विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (SOP) तथा प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने मापदण्डका कारण नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प भएको छ। यसको प्रत्यक्ष असर पूर्वी नेपालका ८३ वटा चिया कारखानामा परेको र ती उद्योग बन्द हुने अवस्थामा पुगेको महासंघले उल्लेख गरेको छ।

महासंघका अनुसार पटक–पटक सिर्जना हुने यस्ता अवरोधले हजारौँ किसानको रोजगारी, उद्यमीहरूको अर्बौँ रुपैयाँ लगानी तथा देशको समग्र निर्यात व्यापारमा अपूरणीय क्षति पुगिरहेको छ।

महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सँग तत्काल दीर्घकालीन कूटनीतिक तथा व्यापारिक समाधान खोज्न माग गरेको छ।

महासंघले चिया निर्यातको गतिरोध अन्त्य गर्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय वा प्राविधिक समिति बैठक तत्काल बोलाउनुपर्ने, प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूले भारतीय समकक्षीसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्ने माग अघि सारेको छ।

यस्तै, नेपाली चियाको गुणस्तर परीक्षणसम्बन्धी समस्या समाधानका लागि दुई देशबीच म्युचल रिकग्निसन एग्रिमेन्ट गर्नुपर्ने, नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्ने प्रमाणपत्रलाई भारतले स्वतः मान्यता दिनुपर्ने तथा केन्द्रीय प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको (ISO Certified) बनाउने गरी सरकारले विशेष बजेट व्यवस्था गर्नुपर्ने महासंघको माग छ।

साथै, संकटमा परेका चिया उद्योग र किसानको संरक्षणका लागि राहत उपलब्ध गराउनुका साथै वैकल्पिक बजार खोजीमा सरकारले सहजीकरण गर्नुपर्नेमा महासंघले जोड दिएको छ।

Advertisment

थप समाचार