एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वव्यापी रोजगारी बजारमा ठूलो परिवर्तन देखिन थालेको छ। सूचना प्रविधि, कानुन, वाणिज्य, अनुवाद, डिजाइन, पुस्तकालय विज्ञानलगायतका क्षेत्रमा एआईले परम्परागत कार्यशैलीलाई प्रतिस्थापन गर्न थालेपछि डिग्रीका आधारमा रोजगारी प्राप्त गर्ने सम्भावना क्रमशः कमजोर बन्दै गएको विज्ञहरूले बताएका छन्।
विश्व आर्थिक मञ्च (डब्लुईएफ) को ‘फ्युचर अफ जब्स रिपोर्ट २०२५’ अनुसार सन् २०३० सम्म विश्वका करिब २२ प्रतिशत रोजगारी कुनै न कुनै रूपमा एआई र स्वचालनको प्रभावमा पर्नेछन्। प्रतिवेदनले एआईसँग काम गर्न सक्ने र उत्पादकत्व बढाउन सक्ने जनशक्तिको माग बढ्ने उल्लेख गरेको छ।
भारतमा गरिएको विभिन्न अध्ययनले पनि यही प्रवृत्ति देखाएको छ। मानव संसाधन कम्पनी टिमलिजको अध्ययनअनुसार करिब ४० प्रतिशत कम्पनीहरूले अब डिग्री मात्र नभई एआई उपकरण प्रयोग गर्न सक्ने ‘हाइब्रिड सीप’ भएका उम्मेदवारलाई प्राथमिकता दिन थालेका छन्। तर ल्ब्क्क्ऋइः को २०२४ को प्रतिवेदनले भारतका करिब ८२ प्रतिशत बीसीए र एमसीए स्नातकहरूमा एआई उपकरणसम्बन्धी औपचारिक प्रशिक्षणको अभाव रहेको देखाएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार आईबीएम इन्स्टिच्युट फर बिजनेस भ्यालुले प्रकाशित गरेको प्रतिवेदनमा “एआईले मानिसलाई प्रतिस्थापन गर्दैन, तर एआई प्रयोग गर्न सक्ने मानिसहरूले एआई प्रयोग नगर्नेहरूलाई प्रतिस्थापन गर्नेछन्” भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ।
भारतका मानव संसाधन विज्ञ तथा टेक कम्पनी पिपलस्ट्रङ र ट्याग्डका सह–संस्थापक पंकज बंसलका अनुसार परम्परागत डिग्रीहरू तत्कालै अप्रासंगिक हुने छैनन्, तर तिनको स्वरूप परिवर्तन हुँदै गएको छ। उनका अनुसार विश्वविद्यालयहरूले पढाइको विषयवस्तु र सिकाइ विधि समयानुकूल परिवर्तन नगरे डिग्रीको मूल्य क्रमशः घट्दै जानेछ।
‘बजारलाई अब केवल सैद्धान्तिक ज्ञान भएका स्नातक होइन, समस्या समाधान गर्न सक्ने, प्रविधि प्रयोग गर्न सक्ने र प्रत्यक्ष कामको अनुभव भएका जनशक्ति चाहिएको छ,’ बंसलले भने।
उनका अनुसार हाल अध्ययनरत विद्यार्थीहरूले कक्षाकोठामा सीमित नबसी प्रत्यक्ष परियोजनामा काम गर्न, एआई उपकरणको व्यावहारिक ज्ञान हासिल गर्न तथा सफ्टवेयर, वेबसाइट वा डिजिटल समाधान विकासमा संलग्न हुनुपर्ने आवश्यकता बढेको छ।
प्रवेशस्तरका रोजगारीमा दबाब
एआईको प्रभाव सबैभन्दा बढी प्रवेशस्तरका अर्थात् नयाँ स्नातकहरूका लागि उपलब्ध हुने रोजगारीमा देखिएको छ। पहिले १० जना कर्मचारीले गर्ने नियमित प्रकृतिका काम अहिले एआईको सहयोगमा दुई वा तीन जनाले सम्पन्न गर्न सक्ने अवस्था बनेको छ।
यसै कारण भारतका प्रमुख आईटी कम्पनीहरू इन्फोसिस, विप्रो र टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) ले केही समय नयाँ स्नातकहरूको भर्ती घटाएका वा स्थगित गरेका थिए। यद्यपि विज्ञहरूका अनुसार यो दीर्घकालीन अवस्था होइन। नयाँ प्रविधिसँगै नयाँ प्रकारका रोजगारी सिर्जना हुने भएकाले भविष्यमा रोजगारीको कुल संख्या बढ्न सक्ने अपेक्षा गरिएको छ।
भारतमा तीव्र रूपमा विस्तार भइरहेका ग्लोबल क्यापेबिलिटी सेन्टर (जीसीसी) हरूले भने एआई, डेटा विश्लेषण तथा डिजिटल सीप भएका युवाहरूलाई आकर्षक तलबमा भर्ती गरिरहेका छन्। हाल भारतमा ४ हजारभन्दा बढी जीसीसी सञ्चालनमा रहेका छन् र प्रत्येक हप्ता नयाँ केन्द्र थपिने क्रम जारी छ।
एआई कोर्सले मात्र जागिर सुनिश्चित गर्दैन
विज्ञहरूका अनुसार एआईसम्बन्धी प्रमाणपत्र वा छोटो अवधि तालिम लिएर मात्र रोजगारी सुनिश्चित हुँदैन। यस्ता प्रमाणपत्रले उम्मेदवारलाई प्रारम्भिक छनोटमा सहयोग गरे पनि अन्ततः रोजगारदाताले व्यावहारिक सीप, समस्या समाधान क्षमता र कामको अनुभवलाई प्राथमिकता दिने गरेका छन्।
बंसलले भने, ‘कुनै पनि संस्थाबाट एआईको प्रमाणपत्र लिनु मात्र पर्याप्त हुँदैन। उम्मेदवारले वास्तविक परियोजनामा काम गरेको, एआई उपकरण प्रयोग गरेर समस्या समाधान गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्छ।’
चीनको शिक्षा क्षेत्रमा ठूलो पुनर्संरचना
एआई र उन्नत प्रविधिको बढ्दो प्रभावसँगै चीनले आफ्नो उच्च शिक्षा प्रणालीमा व्यापक पुनर्संरचना थालेको छ। सन् २०२१ देखि २०२५ सम्मका चार वर्षमा चिनियाँ विश्वविद्यालयहरूले १२ हजार २०० भन्दा बढी स्नातक कार्यक्रम हटाएका वा निलम्बन गरेका छन् भने करिब १० हजार २०० नयाँ कार्यक्रम सञ्चालनमा ल्याएका छन्।
हटाइएका अधिकांश कार्यक्रम कला, मानविकी, विदेशी भाषा र व्यवस्थापनसँग सम्बन्धित थिए। यसको सट्टा विश्वविद्यालयहरूले एआई, अर्धचालक (सेमिकन्डक्टर), रोबोटिक्स, उन्नत उत्पादन प्रणाली तथा अन्य रणनीतिक प्रविधिसम्बन्धी विषयमा नयाँ पाठ्यक्रम सुरु गरेका छन्।
चिनियाँ सरकारले भविष्यको आर्थिक प्रतिस्पर्धाका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विश्वविद्यालयहरूलाई प्रविधिमुखी शिक्षा विस्तार गर्न प्रोत्साहन गरिरहेको छ।
भारतमा पनि पाठ्यक्रम कटौती
रोजगारी बजारको बदलिँदो मागलाई ध्यानमा राख्दै भारतको कर्नाटक राज्य सरकारले पनि उच्च शिक्षामा संरचनात्मक परिवर्तन सुरु गरेको छ। विद्यार्थी भर्ना घट्नुका साथै बजारको आवश्यकता परिवर्तन भएको भन्दै सरकारले शैक्षिक वर्ष २०२६–२७ का लागि सरकारी कलेजहरूमा सञ्चालित ४५८ वटा बीए, बीएससी र बीकम संयोजन कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। साथै १,३०० भन्दा बढी पाठ्यक्रममा विद्यार्थी भर्ना कोटा घटाइएको छ।
एआईको युगमा मानवीय क्षमताको महत्व झन् बढ्नेछ। विशेषगरी निर्णय क्षमता, भावनात्मक बुद्धिमत्ता (एआई), प्रभावकारी सञ्चार तथा विभिन्न स्रोतबाट जानकारी संकलन र विश्लेषण गर्ने क्षमता भविष्यका सबैभन्दा मूल्यवान सीप हुनेछन्।
रोजगारीका दृष्टिले आतिथ्य सेवा, बिक्री तथा मार्केटिङ, डेटा विज्ञान, स्वास्थ्य सेवा र एआईसँग काम गर्न सक्ने विशेषज्ञहरूः जस्तै एआई प्रयोग गर्न जान्ने चिकित्सक, पत्रकार, शिक्षक वा व्यवस्थापकको माग अझ बढ्ने अनुमान गरिएको छ।
Advertisment