काठमाडौं : नाडा पूर्व अध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालमा सवारी साधनको आयात तीव्र गतिमा भइरहे पनि सडक तथा यातायात पूर्वाधार निर्माण भने सुस्त गतिमा भइरहेको बताएका छन् ।
बुधबार नेपाल ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारी साधनको संख्या बढ्नु मात्रै समस्या नभएको भन्दै उनले त्यसअनुसार सडक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायतका पूर्वाधार विकास गर्न नसक्नु मुख्य चुनौती रहेको बताएका हुन् ।
‘हामी सवारी साधन भित्र्याउन खरायोको गतिमा हिँडे पनि सरकार पूर्वाधार व्यवस्थापनमा कछुवाको गतिमा हिँडिरहेको छ,’ थापाले भने ।
थापाले आफूहरूले विगतमा भीमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याउने अवस्थादेखि अहिले प्रविधिमैत्री सवारी साधन भित्र्याउने अवस्थासम्मको यात्रा गरेको बताए । व्यवसायीको उद्देश्य गाडी बिक्री गर्नु मात्रै नभई सवारी साधन क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि रहेको उनको भनाइ थियो ।
उनले सडकमा सुरक्षित यात्रा गर्न सवारी साधनसँगै गुणस्तरीय सडक पूर्वाधार र प्रभावकारी ट्राफिक व्यवस्थापन आवश्यक रहेको बताए । ट्राफिक व्यवस्थापन सुधारका लागि नेपालमा प्रभावकारी जरिवाना प्रणाली र नियमको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको उनले बताए ।
विदेशमा जरिवाना तथा नियम कार्यान्वयनका कारण चालकमा अनुशासन कायम गर्न सहयोग पुगेको उल्लेख गर्दै थापाले नेपालमा पनि ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रभावकारी रूपमा कारबाही गर्नुपर्नेमा जोड दिए ।
यातायातसम्बन्धी नीति तथा कानुन निर्माण गर्दा सम्बन्धित व्यवसायी, विज्ञ र अन्य सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने उनको भनाइ थियो । सम्बन्धित पक्षको सुझाव नलिई नीति तथा कानुन बनाउँदा त्यसको कार्यान्वयनमा व्यवहारिक समस्या आउन सक्ने उनले बताए ।
थापाले काठमाडौंमा पार्किङको समस्या पनि गम्भीर बन्दै गएको बताए । भृकुटीमण्डपलगायतका क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सवारी साधनको बढ्दो संख्यालाई ध्यानमा राखेर व्यवस्थित पार्किङ पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।
उनले नेपाललाई कुनै क्षेत्रको ‘डम्पिङ साइट’ जस्तो बनाउन नहुने बताए । विशेषगरी विद्युतीय सवारी साधन (ईभी) को आयात बढिरहेको अवस्थामा त्यसअनुसार आवश्यक पूर्वाधार निर्माण, नीति, नियम तथा स्पष्ट मापदण्ड बनाउन सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
‘ईभी आयात भइरहेका छन् । तर, त्यसअनुसार आवश्यक पूर्वाधार, नीति–नियम र स्पष्ट मापदण्ड निर्माणमा पनि सरकारले ध्यान दिनुपर्छ,’ थापाले भने ।
सवारी साधनको आयात र पूर्वाधार विकासबीच सन्तुलन कायम गर्न नसके आगामी दिनमा ट्राफिक व्यवस्थापन, पार्किङ तथा सडक सुरक्षाको समस्या थप जटिल बन्न सक्ने उनले बताए ।