Below Menu
Below Menu

साढे ७३ करोड लगानी थप्दै स्वर्णिम होटल, नौ महिनामा गर्यो १५ करोडको व्यापार 

साढे ७३ करोड लगानी थप्दै स्वर्णिम होटल, नौ महिनामा गर्यो १५ करोडको व्यापार 

काठमाडौं : स्वर्णिम होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १४.७७ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०२५ को नौ महिनामा कम्पनीले १७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।  

कम्पनीले सन् २०२५ मा २३ करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

चालु आवको नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन (ईबीआईटिडिए) १९.६७ प्रतिशत अर्थात २ करोड ९० लाख रुपैयाँ रहेको छ । तर, उच्च ब्याज खर्चका कारण कम्पनीको खुद नाफा भने अझै नकारात्मक अवस्थामा रहेको छ ।

होटलको अकुपेन्सी दरमा पनि सुधार देखिएको छ । सन् २०२४ मा करिब ३६ प्रतिशत रहेको अकुपेन्सी सन् २०२५ मा बढेर ६९ प्रतिशत पुगेको थियो भने चालु आवको दश महिनामा ६५ प्रतिशत रहेको छ ।  

सन् २०१२ मा स्वर्णिम बुटिक होटल प्रालिका रूपमा स्थापना भएको कम्पनी २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको हो । कम्पनीमा नरेश लाल श्रेष्ठको ३८ प्रतिशत स्वामित्व रहेको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०.५२ प्रतिशत शेयर हिस्सा रहेको छ ।  

सन् २०२३ को डिसेम्बरदेखि पूर्ण रूपमा सञ्चालनमा आएको होटलमा १०० वटा कोठाहरु रहेका छन् । जसमा ९९ डिलक्स र १ स्विट कोठा रहेका छन्। 

कम्पनीले होटल विस्तारका लागि ७३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी योजना अघि बढाएको छ । विस्तारका लागि कम्पनीले ३८ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।   

नक्सालस्थित ‘होलिडे इन एक्स्प्रेस’ सञ्चालन गर्दै आएको स्वर्णिम होटलको चुक्ता पुँजी एक अर्ब ५२ करोड रुपैयाँ रहेको छ । कम्पनीले होटल सञ्चालनका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग सम्झौता गरेको छ । 

Advertisment

थप समाचार