काठमाडौं : काभ्रेपलाञ्चोकको नमोबुद्धमा निर्माणाधीन ‘बोधि रिसोर्ट नेपाल’ परियोजनाको लागत उल्लेखनीय रूपमा वृद्धि भएको छ। परियोजनाको लागत ३९.१५ प्रतिशत अर्थात करिब २५ करोड रुपैयाँले बढेर ८८ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।
सुरुवातमा ६३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा संरचनागत परिवर्तन, डिजाइन परिमार्जन तथा अन्य प्राविधिक कारणहरूले लागत वृद्धि भएको कम्पनीले जनाएको छ।
संशोधित लागत अनुसार करिब ७२ प्रतिशत रकम ऋणमार्फत र २८ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ। प्रारम्भिक लागत अनुमानको समयमा यो अनुपात ७०:३० थियो भने लागत वृद्धि भएर थपिएको भागमा ऋणको हिस्सा अझ बढ्दै करिब ८०:२० सम्म पुगेको बताइएको छ।
कम्पनीले ‘बोधि रिसोर्ट नेपाल’ ब्रान्डअन्तर्गत नमोबुद्धमा १५ वटा कोठासहितरिसोर्ट निर्माण गरिरहेको छ। परियोजनामा १० वटा डिलक्स भिल्ला, एक प्रेसिडेन्सियल भिल्ला तथा एक आर्टिस्ट भिल्ला रहनेछन् ।
बोधि रिसोर्ट प्रालि सन् २०१८ अक्टोबर २ मा स्थापना भएको कम्पनी हो। कम्पनीका प्रमुख लगानीकर्ता तथा अध्यक्ष काल्साङ पाल्जोर शेर्पा रहेका छन् । कम्पनीमा उनको २५ प्रतिशत स्वामित्व रहेको छ।
सन् २०२२ फेब्रुअरीदेखि निर्माण कार्य सुरु गरिएको यस परियोजना आर्थिक वर्ष २०८३/८४ बाट व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
काठमाडौंबाट करिब ४० किलोमिटर दूरीमा रहेको यस स्थानबाट हिमशृंखलाहरूको दृश्य, सूर्योदय–सूर्यास्त अवलोकन तथा नजिकैका धुलिखेल, पनौती र बल्थलीजस्ता गन्तव्यहरूको पहुँच सहज हुने भएकाले पर्यटन प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ।
नमोबुद्ध क्षेत्रमा निर्माण भइरहेको यो रिसोर्टका लागि वित्तीय व्यवस्थापनमा थप चुनौती देखिएको छ । ऋणको साँवा तथा ब्याज भुक्तानी समयमै गर्न नसकेको कारण कम्पनीको क्रेडिट रेटिङमा उल्लेखनीय गिरावट आएको छ।
रेटिङ एजेन्सीले बोधि रिसोर्ट प्राइभेट लिमिटेडको दीर्घकालीन बैंकिङ सुविधाको रेटिङ ‘बीबी माइनस’ र अल्पकालीनको ‘एफोर’ बाट घटाएर ‘डी’ कायम गरेको हो।
कम्पनीसँग कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको बैंक सुविधा रहेको छ । जसमध्ये ६३ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र १ करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जा सुविधा रहेको छ।
Advertisment