काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको आकार पौने तीन खर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा विनिमय दरमा भएको नोक्सानीसहित दुई खर्ब ८७ अर्ब १४ रुपैयाँ थपिएको हो । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ८७ प्रतिशत बराबर हो ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत रहेको छ ।
जेठ मसान्तसम्म सरकारले तीन खर्ब ५१ अर्ब ५४ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत दुई खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ र ब्याज वापत ६७ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।
आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड बराबर रहेकामा जेठ मसान्तसम्ममा बढेर १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २० दशमलव ८७ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले तीन खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा ब्याज बाहेक दुई खर्ब २९ अर्ब ६० करोड बराबर ऋण तिरेको छ ।
त्यस्तै, जेठ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १५ खर्ब ८३ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ छ । गत असार मसान्तसम्म बाह्य ऋण १४ खर्ब पाँच अर्ब ८२ करोड बराबर थियो ।
यस अवधिमा सरकारले बाह्य ऋणको भुक्तानीमा ब्याज बाहेक ५४ अर्ब ८४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा ६६ अर्ब ४९ करोड तीन लाख रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४ प्रतिशत बराबर हो ।
चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा यस अवधिमा ४ खर्ब १८ अर्ब १२ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ७०.२० प्रतिशत हो ।
जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ९३.५५ र ३४.०१ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१ र १९ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट छुट्याएको थियो । जेठ मसान्तसम्ममा तीन खर्ब ५१ अर्ब ७४ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।
यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ८५.५८ प्रतिशत बराबर हो । जिडिपीको आधारमा जेठ मसान्तसम्मको कुल ऋण सेवा खर्च ५ दशमलव ३३ प्रतिशत बराबर हो ।
Advertisment