झापा : झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ र रु १३ लाख ३९ हजार नगदसहित एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका-५ जिराइँ टोलमा कोठा भाडामा बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर १२ गते अपराह्न ५ बजे उनलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।
जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित २२ ग्राम ७२० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले त्यसपछि बिर्तामोड-५ स्थित बसन्त पवन तिम्सिनाको घरमा रहेको उनको डेरामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लागूऔषध लतपतिएको एउटा छुरी, एउटा कैँची, एउटा डिजिटल तराजु, नगद रु १३ लाख ३९ हजार र दुईवटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।