काठमाडौं : राष्ट्रिय सहकारी महासंघ नेपालले यही असार ६ र ७ गते (सन् २०२६ जुन २०–२१) मा ललितपुरस्थित हेरिटेज गार्डेनमा ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ आयोजना गर्ने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्ने लागेको जानकारी दिएको हो ।
महासंघले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, तथा सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो ।
उक्त सम्मेलनमा नेपालसहित विभिन्न देशका सहकारीकर्मी, महिला उद्यमी, नीति निर्माता तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासंघका अनुसार सम्मेलनले महिला किसान तथा सहकारीकर्मीको योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्नुका साथै लैंगिक उत्तरदायी नीति तथा अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका कार्यबाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपाल सहकारी क्षेत्रमा महिला सहभागिताको दृष्टिले विश्वकै लागि अध्ययनयोग्य उदाहरण बनेको दाबी गरे।
उनका अनुसार नेपालका सहकारी संस्थाहरूमा हाल १ करोडभन्दा बढी सदस्य आबद्ध छन् । जसमध्ये करिब ५६ प्रतिशत महिला छन्। विश्वका धेरै पुराना सहकारी आन्दोलन भएका देशहरूले समेत यति उच्च महिला सहभागिता हासिल गर्न नसकेको उल्लेख गर्दै उनले नेपालले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक सन्देश दिन खोजेको बताए।
‘लामो समयदेखि सहकारी अभियानमा संलग्न विकसित मुलुकहरूले समेत ५६ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सकेका छैनन्। नेपालले भने सहकारी अभियानमार्फत महिला नेतृत्व र सहभागितामा उल्लेखनीय सफलता हासिल गरेको छ,’ पोखरेलले भने।
संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलन झनै सान्दर्भिक बन्ने महासंघको भनाइ छ। नेपालका ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू कृषि कार्यमा प्रत्यक्ष संलग्न रहेका छन् भने देशभर सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थामा महिलाको सक्रिय उपस्थिति रहेको छ।
विशेषगरी कृषि, पशुपालन, घरेलु उद्योग, हस्तकला तथा खुद्रा व्यापार क्षेत्रमा महिलाहरूले सहकारीमार्फत उद्यम सञ्चालन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्।
महासंघका अनुसार सहकारी क्षेत्रले महिलाहरूलाई बचत तथा ऋण सेवामार्फत आर्थिक पहुँच विस्तार गर्नुका साथै उद्यमशीलता विकास, रोजगारी सिर्जना र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षजस्ता नेतृत्वदायी पदहरूमा महिलाको सहभागिता बढ्दै जाँदा संस्थागत सुशासन र निर्णय प्रक्रियामा समेत सकारात्मक प्रभाव परेको बताइएको छ।
दुईदिने सम्मेलनमा नीति संवाद, कार्यपत्र प्रस्तुति, महिला सहकारीबाट उत्पादित वस्तुको प्रदर्शनी, उत्कृष्ट महिला सहकारी उद्यमी सम्मान, सहकारी संस्थाको अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा स्थल अवलोकनलगायत कार्यक्रम रहेका छन् । विदेशी प्रतिनिधिहरूलाई नेपालका सफल सहकारी अभ्यास प्रत्यक्ष अवलोकन गराउने कार्यक्रम पनि तय गरिएको महासंघले जनाएको छ।
सम्मेलनमा सहभागी हुन चाहने व्यक्तिहरूका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। उक्त शुल्कबाट सहभागीहरूको खाजा, भोजन तथा सम्मेलन सामग्री व्यवस्थापन गरिनेछ भने यात्रा तथा आवास खर्च सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं व्यहोर्ने व्यवस्था गरिएको पोखरेलले जानकारी दिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल र हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहेका छन्। यसका अतिरिक्त विभिन्न विषयगत, प्रदेश तथा जिल्ला सहकारी संघहरूको समेत सहयोग रहनेछ।
सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गरिनेछ। उक्त घोषणापत्रमार्फत महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सामाजिक समावेशीकरण तथा सहकारीमार्फत दिगो कृषि प्रणाली प्रवर्द्धनका विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाइने अपेक्षा गरिएको छ।
यस सम्मेलनले ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष–२०२६’ को उद्देश्यलाई सार्थक बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्ने विश्वास लिईएको छ ।
Advertisment