भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ सुरु भएको यस ऐतिहासिक ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ को सुखद् अवसरमा आयोजक संस्था र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु ।
यस अन्तर्राष्ट्रिय सम्मेलनमा यहाँहरूको गरिमामय उपस्थितिले हामीलाई अत्यन्त उत्साहित र गौरवान्वित बनाएको छ । सहकारी आन्दोलन केवल आर्थिक कारोबार मात्र होइन, यो विश्वभरका मानिसहरूको आर्थिक, सामाजिक रूपान्तरण र नेतृत्व विकासको बलियो आधारस्तम्भ हो ।
नेपालको सहकारी क्षेत्रमा ५६ प्रतिशतभन्दा बढी महिला सहभागि छन् । महिलाको आर्थिक सामाजिक रुपान्तरण र नेतृत्व विकासमा यो गर्विलो उपलब्धि र लोभलाग्दो यथार्थ हो । आज संख्यात्मक रूपमा मात्र होइन, गुणात्मक रूपमा पनि कृषि, उद्यमशीलता, वित्तीय पहुँच, खाद्य सुरक्षा र सामुदायिक विकासमा महिलाहरूको नेतृत्वदायी भूमिका निरन्तर सशक्त बन्दै गएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको यस ऐतिहासिक घडीमा यो सम्मेलन आयोजना हुनु आफैंमा एउटा सुखद् संयोग र अवसर हो । त्यसैले, महिला किसान, महिला उद्यमी र महिला सहकारीकर्मीहरूको अमूल्य योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न, अनुभवहरू साटासाट गर्न र नीतिगत सुधारका लागि एउटा साझा र बुलन्द आवाज निर्माण गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं ।
दुई दिनसम्म चल्ने यस सघन वैचारिक मन्थन र उत्सवमय सम्मेलनमा हामी केही महत्वपूर्ण विषयहरूमा केन्द्रित हुनेछौं ।
यस सम्मेलनमा सहकारी र कृषि क्षेत्रमा महिलाहरूको योगदानबारे वैश्विक अनुभव र सिकाइको आदान प्रदान हुने छ । महिला नेतृत्व, उद्यमशीलता प्रवद्र्धन, बजार पहुँचका चुनौती र सम्भावनाबारे नीतिगत संवाद तथा गहन नीतिगत विमर्श हुने छ । यस अवसरमा विभिन्न देशका उत्कृष्ट अभ्यास र सफलताका प्रेरक कथाहरूको प्रस्तुति हुने छ ।
यस सम्मेलनमा महिला उद्यमी र सहकारीद्वारा उत्पादित मौलिक वस्तुहरूको विशेष प्रदर्शनी पनि गरिने छ । सम्मेलनको सुनौलो अवसरलाई हामी सांस्कृतिक कार्यक्रमका माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनाउने र दीगो नेटवर्किङको निर्माणमा पनि सदुपयोग गर्ने छौं ।
यस सम्मेलनको निष्कर्ष स्वरूप महिला सशक्तीकरण र सहकारीको दीगो विकासका लागि साझा प्रतिबद्धता सहितको ‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गरिने छ ।
हामी दृढ छौं कि यस सम्मेलनले सहकारीका माध्यमबाट महिलाहरूको आर्थिक आत्मनिर्भरता, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई नयाँ उचाइ दिनेछ । नेपाल तथा विश्वका विभिन्न कुनाबाट आउनुभएका विद्वान र अनुभवी प्रतिनिधिहरूबाट सिक्दै दीगो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्न हामी सफल हुने छौं ।
अन्त्यमा, यस गरिमामय सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पु¥याउनुहुने नेपाल सरकार, विकास साझेदार संस्थाहरू, अन्तर्राष्ट्रिय सहकारी निकायहरू, प्रायोजकहरू, सहयोगि संघ संस्थाहरु, र सम्पूर्ण सहभागी महानुभावहरूमा पुनः एकपटक हार्दिक कृतज्ञताका साथ न्यानो स्वागत व्यक्त गर्दछु ।
यहाँहरूको सक्रिय, ऊर्जावान् र अर्थपूर्ण सहभागिताले यस सम्मेलनलाई उपलब्धिमूलक र ऐतिहासिक बनाउनेछ भन्ने विश्वासका साथ सम्मेलनको पूर्ण सफलताको समेत हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष पन्तले आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ को उद्घाटन सत्रमा व्यक्त गर्नुभएको स्वागत मन्तव्यको अंश।)
Advertisment