नेफ्स्कूनको स्कुलिङ अपनाउने सहकारी समस्यामा छैनन् : बस्नेत
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा देखिएका वित्तीय चुनौती समाधानका लागि सदस्यको बचत सुरक्षा, संस्थागत सुशासन र जिम्मेवार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बडा दशैंको अवसरमा नेफ्स्कूनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ढकालले सहकारी क्षेत्रको सुधारका लागि आपसी विश्वास, एकता र सहकार्य आवश्यक रहेको सन्देश दिएका हुन्।
उनले सहकारी क्षेत्रमा देखिएका तरलता व्यवस्थापन, ऋण असुली, निष्क्रिय कर्जा तथा वित्तीय अनुशासनसम्बन्धी चुनौतीलाई संस्थागत सुधार र सुशासनमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। सहकारी संस्थाहरूले आफ्नो वित्तीय अवस्थाको निष्पक्ष समीक्षा गर्दै पारदर्शिता र जिम्मेवार व्यवस्थापनलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ।
सुरक्षित सदस्य, सबल संस्था र सुदृढ राष्ट्रिय सहकारी वित्तीय सञ्जाल निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सहकारी अभियानको वास्तविक शक्ति आपसी विश्वास र सहकार्यमा निहित रहेको सन्देश दिएका छन्।

कार्यक्रममा नेफ्स्कूनका सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत र नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा डि.बी. बस्नेतले नेफ्स्कूनले अघि सारेको स्कुलिङ शतप्रतिशत कार्यान्वयन गर्ने सहकारी संस्थाहरू कुनै पनि समस्यामा नरहेको दाबी गरे। ऋण असुलीमा केही समस्या देखिए पनि सहकारीमा बचत वृद्धि हुँदै गएको उनको भनाइ थियो।
सहकारी क्षेत्रको अनुगमनबाट पनि समग्र अभियान धराशायी भएको निष्कर्ष ननिस्किएको उनले बताए। अभियानले दिएका सुझाव सरकारले समयमै कार्यान्वयन गर्न नसक्दा कतिपय सहकारी संस्था समस्यामा परेको उनको जिकिर थियो।
‘अहिले सहकारी क्षेत्रमा देखिएको परिस्थिति आउन सक्छ भनेर नेफ्स्कूनले २० वर्षअघि नै सरकारलाई अवगत गराएको थियो,’ बस्नेतले भने, ‘त्यतिबेला नेफ्स्कूनले सरकारलाई बुझाएका दस्तावेज अध्ययन गर्ने हो भने अहिलेको अवस्था र त्यसबेला दिइएका सुझावबारे स्पष्ट हुन सकिन्छ।’
उनले सहकारी अभियानले समयमै दिएका सुझाव र चेतावनीलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गरिएको भए अहिलेको अवस्था फरक हुन सक्ने आशय व्यक्त गरे। नेफ्स्कूनको केन्द्रीय कार्यालय मिनभवन, काठमाडौंमा आयोजित कार्यक्रममा संघका सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि, पत्रकार तथा संघका व्यवस्थापनको सहभागिता थियो।
कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले संघको पछिल्लो अवस्था, संस्थागत गतिविधि, सञ्चालनमा रहेका कार्यक्रम तथा बचत तथा ऋण सहकारी अभियानको समसामयिक अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।
प्रस्तुतीकरणपछि सहकारी क्षेत्रको वर्तमान अवस्था, संस्थागत सुशासन, सदस्यको बचत सुरक्षा, वित्तीय अनुशासन र सहकारी अभियानप्रतिको जनविश्वासका विषयमा छलफल गरिएको थियो।