समय सन्दर्भ
सहकारी अभियान वा सञ्जालको सबलताविना संघहरूको सबलता प्राप्त गर्न असम्भव छ र संघहरू पहिचानयुक्त सबलताविना सहकारी बैंकको गठन र सफलता पनि असम्भव छ । बचत तथा ऋण सहकारी सञ्जाल, संघहरू र बैंक फरक–फरक विषय होइन । बचत तथा ऋण सहकारी अभियानको अन्तरनिर्भर विषय हो । एकका लागि अर्को अपरिहार्य विषय हो ।
बचत तथा ऋणको मुख्य कारोबार गरिरहेका संघहरूको कारोबार बैंकिङ प्रणालीमा लैजाने विधायिकी मनसाय र सोहीबमोजिम पछिल्लो समय भएको सहकारी ऐनको संशोधनले सहकारी अभियानमा फरक किसिमको छलफलको सुरु भएको छ । अभियानकर्मीहरू विभिन्न खेमामा रहेर बहस गरेको पनि देखिएको छ । संघहरूको पहिचान र कारोबार अधिकारको रूपमा पैरवी गर्ने । सहकारी ऐनमा आएको व्यवस्थालाई तुरुन्त कार्यान्वयन गर्ने । सहकारी बैंक धेरै होइन, भएकोमा नै समाहित गर्ने । अहिलेको सहकारी बैंकले सहकारी अभियानको समस्या समाधानको सक्षमता नदेखिएकोले फरक तरिकाले छलफल गर्नुपर्ने ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघहरू, बचत ऋणबाहेकका समेतलाई पछिल्लो संशोधनले एउटै स्थानमा राखेर नीतिगत व्यवस्था गरेको सन्दर्भमा २०४८ को सहकारी ऐनले विकास गरेको ढाँचामा फेरबदल देखिने सन्दर्भमा आज अभियान पुगेका कारण हलचल पैदा भएको छ । बचत तथा ऋण सहकारी सञ्जालको आजको स्तरको विकासमा सबैभन्दा धेरै योगदान संघहरूको नै रहेको थियो । आज पनि रहने छ र भोलि पनि रहने छ । सहकारी संघको विकल्प सहकारी बैंक हुन सक्दैन । अहिलेको सहकारी ऐन संशोधनको अपेक्षा पनि सो देखिएको छैन ।
साकोस सञ्जाल
बचत तथा ऋण सहकारीहरू संख्यात्मक रूपमा अत्यधिक छन् । यति आवश्यक हो कि होइन । सहकारीको आदर्श सहकार्य नै । व्यवहार पनि सहकार्य नै हो । विकासको जग र समस्या समाधानको जग पनि सहकार्य नै । सहकारी एकल संस्था हुनै सक्दैन । एउटा संस्थाको समस्याले आम सहकारीहरूमा असर गरेको हुन्छ र छ पनि । बचत तथा ऋण सहकारी अभियानको छवि सुधारका लागि आज सहकारी सञ्जालको सबलता वृद्धि गर्नु परेको । सदस्यको बचतको सुरक्षा नै आजको आवश्यकता हो । सदस्यहरूको सुरक्षित बचत फिर्ताको सुनिश्चितताविना बचत तथा ऋण सहकारी अभियानको छवि सुधार हुन सक्दैन । बचत तथा ऋण सहकारी सञ्जाल जुन रूपमा आजको अवस्थामा आएको छ, अवसर र चुनौती दुवै दिएको छ । सहकारी बैंक भयो । सहकारिता हरायो । अभियानकर्मीहरूको योगदानलाई नजरअन्दाज गरियो । सरकार हाबी भयो । युवा सदस्यहरू सहभागी भएनन् । सदस्यहरूले सञ्जालको जिम्मा लिएन जस्ता आवाजहरू सामाजिक सञ्जालमा विभिन्न रूपमा सुनिएको विषय हो ।
सहकारी सानो हुनु पर्छ भन्ने सोचबाट नै आजसम्म सहकारी विकास भएको हो । बचत तथा ऋण सहकारीहरूलाई सदस्यहरूले अस्वीकार गरेको अवस्था छैन । जोखिमको विचार गरेर कारोबारको मात्र व्यवस्थापन गरेको देखिन्छ । सहकारी सदस्यहरूलाई चाहिएको हो । सदस्यहरूलाई आफ्नो वित्तीय संस्था चाहिएको हो । जसले सदस्यहरूको समस्या सुनेर समाधान दिन सकोस् । कानुनको कागजमा लेखेर मात्र सहकारी सञ्जाल विकास भएको होइन । सहकारी सञ्जाल त सदस्यहरूको वित्तीय आवश्यकताले सिर्जना भएको हो र आजको स्तरमा विकास पनि भएको हो । अलग-अलग दर्ता नं., अलग-अलग कार्यालय, अलग-अलग व्यवस्थापन संरचना भए पनि बचत तथा ऋण सहकारी सञ्जाल एक हो र एक रहनु पर्छ । सञ्जालका अलग-अलग दर्ता नं., अलग-अलग कार्यालय, अलग-अलग व्यवस्थापन संरचना सञ्जालको आवश्यकताले होइन । सदस्यहरूको समस्या समाधान गर्ने सन्दर्भमा विकास भएको हो । बचत तथा ऋण सहकारी संस्थाको मर्म गैरनाफा आज पनि मरेको छैन। सदस्य हितको प्राथमिकता आज पनि फेरिएको छैन । यो जीवन्त रहने छ भन्ने विश्वासमा आज करोडौँ जनता सहकारी अभियानमा जोडिएको हो । सदस्यको आवश्यकता पूरा गर्न सक्ने सहकारी सञ्जाल नै जीवन्त सहकारी सञ्जाल हो ।
सहकारी संघहरू
सहकारी संघहरू अभियानको अभिन्न संरचना हो । सहकारी संघहरू गैरसरकारी वा सरकारी संस्था होइनन् । बचत तथा ऋण सहकारी सञ्जालका लागि बलिया जगहरू हुन् । सहकारी संस्थाहरूको जन्मजात उद्देश्य लागत घटाउन, सेवाको गुणस्तर वृद्धि गर्न र सामूहिक रूपमा जोखिम व्यवस्थापन आवश्यक साझा सेवाहरूको विकास तथा सञ्चालनका लागि गठन र विकास भएका हुन् । सहकारी संघहरू कमजोर भएर सहकारीका आदर्शहरूको कार्यान्वयन बलियो हुन सक्दैन । संघहरूको कार्यढाँचामा परिमार्जन हुन सक्छ तर संघहरूविनाको अभियानको कल्पना गर्न सहकारी बुझेका मानिसहरूले सक्दैनन् । राज्यले सहकारी क्षेत्रसँग राखेको आर्थिक सामाजिक रूपान्तरणको उद्देश्यहरू पनि संघहरू कमजोर बनाएर प्राप्त गर्न सक्दैन । आजको उत्तरआधुनिक समाजको विशेषता भनेको नै एउटा व्यक्ति वा संस्था आफैँले मात्र आफ्ना आवश्यकता पूरा गर्न सक्दैन । उसका साझा आवश्यकताहरू पूरा गर्न नै संघहरूको ढाँचा विकास भएको हो ।
आज केही सीमित स्वार्थ भएका समूहको भड्काउमा राज्यको नीतिमा नै संघहरूलाई कमजोर बनाउनका लागि सहकारी सञ्जालको स्वरूपमा नराखी अलग्गै स्वरूपमा लैजान खोजेको हो कि भन्ने आशंका पैदा हुनाले सहकारी अभियान कमजोर भएको महसुस भएको छ । औपचारिक कार्यक्रमका सुमधुर भाषणहरूले संघ प्रभावकारी हुने होइन, संघ प्रभावकारी त्यति बेला हुन सक्छ जति बेला बचत तथा ऋणका सेवाहरूको प्रभावकारिताका लागि साझा सेवाहरूको विकास गर्न सक्दछ । वित्तीय क्षेत्रमा सेवा प्रवाहको विधिमा आएको आमूल परिवर्तन सहकारी क्षेत्रमा पनि आवश्यक हो । यसका लागि साझा सेवाहरूको विकासविना सम्भव छैन ।
संघहरूको सबलता पहिलो
सहकारी अभियान बलियो बन्न नदिने सुरुवातको विन्दु नै संघहरूलाई कमजोर बनाउने रणनीति हो । संघको कारोबारलाई नियन्त्रण, योगदानलाई वेवास्ता र सञ्जालसँगको अन्तरनिर्भरतामा न्यूनीकरणको अभिष्ट राखेको देखिन्छ । यसका लागि ऐन, नियम तथा निर्देशनहरूको सहारा लिएको पाइन्छ । आजको बचत तथा ऋण सहकारी अभियानले संघ पहिला हुनु पर्छ भन्ने कुरा बुझेको छ । चार दशकको नेपालको बचत तथा ऋण सहकारी अभियानमा सरकारभन्दा पनि संघले अगाडि योगदान गरेको छर्लङ्ग छ । नेपालको बचत तथा ऋण सहकारी अभियानकर्मी, शुभचिन्तक तथा योगदानकर्ताहरू कोही दोधारमा बस्न आवश्यक छैन । अभियानमा संघहरूको प्राथमिकतामा परेको दिन बाँकी रहेको सहकारी अभियान पनि ध्वस्त हुन्छ । विषयगत संघहरू पहिलो प्राथमिकतामा नपर्दा सहकारी ऐन २०७४ ले दिएका साझा सेवाहरूको विकासको अवसर निजी क्षेत्र वा राज्यले लिइरहेको र आज संघ कमजोर भएको महसुस गर्नुपर्ने दिन आएको छ ।
सहकारी बैंक
अबको सहकारी बैंकको स्वरूप फरक हुनु पर्छ । सहकारी बैंकको गठनले प्रतिस्पर्धा न्यून र सहकार्य बढेर जानु पर्छ । सहकारी बैंक अहिलेको सञ्जालको आवश्यकता र चाहना होइन तर राज्यले सोचेको व्यवस्थापनको विधि हुन सक्छ तर संघहरू कमजोर हुने गरी कुनै पनि सहकारी बैंक सञ्चालन हुन सक्दैन । सहकारी संस्थाहरूको वित्तीय कारोबारको व्यावसायिक क्षमता बढाउन । औपचारिकता र सुरक्षा बढाउन सहकारी बैंक हो भने स्वरूप बचत तथा ऋण सहकारीको आवश्यकता पूरा गर्ने र अभियानको पहिचान वृद्धि गर्ने उच्च व्यावसायिक क्षमताको हुन आवश्यक छ । सहकारी बैंक अभियानको स्रोत अभियानको विकास र सुरक्षाका लागि हुन सक्ने गरी हुनु पर्दछ । यस्तो स्वरूपको विकास र सञ्चालनमा पनि संघहरूको नै भूमिका प्रमुख हुन जरुरी छ ।
सहकारी सिद्धान्त
सहकारी सिद्धान्तको आर्थिक सहभागितालाई बिर्सेर सहकारी संघहरू चुप रहन सक्दैनन् । सहकारी संघहरूमा सदस्यहरूको आर्थिक सहभागिता अनिवार्य छ । आर्थिक सहभागिताको स्वरूप राज्यका कानुनहरूले परिभाषित गरिदिन आवश्यक हो । संघहरूको क्षमता न्यूनीकरण, संघहरूको भूमिका न्यूनीकरण गरेर आर्थिक रूपमा कमजोर बनाएर बचत तथा ऋण सहकारीहरू बलियो हुन सक्दैनन् । बचत तथा ऋण सहकारीका संघहरूमा आर्थिक सहभागिता भनेको बचत पनि हो । यसको स्वरूप र सुरक्षा विधि थप हुन सक्छ तर सिद्धान्तको चीरहरण अभियानले सहन सक्दैन । बचत तथा ऋण सहकारीहरूलाई बचत तथा ऋणको कारोबारमा बन्देज गर्नु भनेको सिद्धान्तविपरीत छ । स्वसहयोग सहकारीको आत्मा हो । आर्थिक सहभागिता र सक्षमता पनि स्वसहयोगमा आधारित हुन आवश्यक छ ।
सहकारी सिद्धान्त र जोखिम व्यवस्थापन सन्तुलनका लागि बैंकिङ स्तरको वित्तीय व्यवस्थापन गर्न अभियान सक्षम हुन्छ तर सहकारी बैंक एउटा संस्था बन्ने विधि होइन, बचत तथा ऋण सहकारीका सदस्यहरूले आफ्नै संस्थाबाट सबै समाधान पाउने विधिबाट हुन आवश्यक छ । यसका लागि संघको भूमिका ज्यादै महत्त्वपूर्ण हुन्छ । सहकारी बैंक मुनाफाको उद्देश्यले होइन, वित्तीय स्तर कायम गर्न, वित्तीय सुरक्षा गर्न, नयाँ सेवाहरूको सहकारी क्षेत्रमा सुरुवात गर्नका लागि हुन पर्दछ । यो बनाउने जिम्मा पनि सहकारी संघहरूको नै हुन्छ । बचत तथा ऋण सहकारीहरू सहकारीको ढाँचामा वित्तीय सेवा दिने संस्थाहरू भएकोले फरक रूपमा व्यवस्थापन गर्न आवश्यक छ । सहकारी सामान्य मानिसहरूको वित्तीय सेवा प्रदायक संस्था निर्विकल्प हो ।
निष्कर्ष
बचत तथा ऋण सहकारी क्षेत्रको दिगो विकास, वित्तीय स्थायित्व र संस्थागत सुदृढीकरणका लागि संघहरूको भूमिका केवल प्रतिनिधिमूलक र प्रवर्द्धनात्मक कार्यमा सीमित गरिनु अन्याय र सहकारी सिद्धान्तविपरीत हुन्छ । सहकारी संघहरूलाई सदस्य संस्थाहरूबीच वित्तीय एकीकरण, साझा सेवा विकास र कार्यान्वयन, तरलता व्यवस्थापन एवं संस्थागत समन्वयको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गरेको छ । सहकारी संस्थाहरू सदस्य स्वामित्व र लोकतान्त्रिक नियन्त्रणमा स्वायत्त रूपमा सञ्चालन हुन्छन् भने जिल्ला, प्रदेश तथा केन्द्रीय संरचनाले बैंकिङ सेवा, प्रविधि, भुक्तानी प्रणाली, जोखिम व्यवस्थापन, मानव संसाधन, वित्तीय योजना तथा तरलता व्यवस्थापनमा सहयोग र समन्वय गर्छन् । केन्द्रीय संरचनाले स्रोत परिचालन र वित्तीय सेवाको एकीकरण गर्दै सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्छ ।
सहकारी बैंकको सफलताको मेरुदण्ड संघहरूको सबलता र भूमिकाको वृद्धि नै हो । संघहरूमार्फत सदस्य साकोसहरूलाई एकीकृत वित्तीय सञ्जालमा आबद्ध गर्न गरी केन्द्रीय तरलता व्यवस्थापन, अन्तरसहकारी कारोबार, साझा डिजिटल बैंकिङ प्रणाली, जोखिम अनुगमन, पुँजी परिचालन र व्यावसायिक व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नलाई इकोसिस्टम बनाउनु पर्ने भएकोले संघहरूको सहभागिता अति जरुरी हो । संघहरू प्रशासनिक संरचना मात्र नभई सहकारी वित्तीय प्रणालीका रणनीतिक समन्वयकर्ता, वित्तीय एकीकरणका संवाहक र संस्थागत स्थायित्वका संरक्षक बन्न आवश्यक छ । सबल संघ, सक्षम साकोस र एकीकृत वित्तीय सञ्जाल नै राष्ट्रिय सहकारी वित्तीय प्रणालीको अबको गन्तव्य हो ।