काठमाडौं : नवलपरासीको दुम्किबासमा अतुल्य स्टिल्स प्रालिले जीआई वायर तथा तारजाली (ग्याबिन बक्स) उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। परियोजना करिब ३० करोड २० लाख रुपैयाँको लगानीमा निर्माण भइरहेको छ ।
परियोजनाको कुल लागतमध्ये करिब ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत स्वपुँजीबाट लगानी जुटाइने कम्पनीले जनाएको छ। हालसम्म करिब १९ करोड ६० लाख रुपैयाँ बराबरको टर्म लोन स्वीकृत भइसकेको छ भने प्रवर्द्धकहरूले आवश्यक स्वपुँजीमध्ये करिब ५६ प्रतिशत लगानी गरिसकेका छन्।
हालसम्म परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब ६४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ। उद्योग निर्माणसँग सम्बन्धित अधिकांश सिभिल तथा संरचनात्मक काम सम्पन्न भइसकेका छन्। अब बाँकी संरचनात्मक काम सम्पन्न भएपछि मेसिनरी जडान र परीक्षण उत्पादन सुरु गर्ने तयारी रहेको छ।
उद्योग सञ्चालनमा आएपछि दैनिक ६६ मेट्रिक टन जस्ती (जीआई) वायर र १०० मेट्रिक टन ग्याबियन बक्स उत्पादन हुने छ । उद्योगको दैनिक उत्पादन क्षमता १६६ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ ।
कम्पनीले भारतबाट वायर रड आयात गरी उत्पादन प्रक्रिया अघि बढाउने भएकाले कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा विदेशी विनिमय दरको जोखिम प्रमुख चुनौतीका रूपमा रहेको रेटिङ एजेन्सीहरूले औंल्याएका छन्।
यद्यपि भारतसँगको सीमावर्ती क्षेत्रमा उद्योग रहेको कारण कच्चा पदार्थ ढुवानी लागत तुलनात्मक रूपमा कम हुने भएकाले उत्पादन लागतमा केही प्रतिस्पर्धात्मक लाभ मिल्ने जनाइएको छ ।
सन् २०२२ मे २ मा स्थापना भएको अतुल्य स्टिल्स प्रालिका अध्यक्ष अभय शर्मा हुन् । उनी विगत छ वर्षभन्दा बढी समयदेखि स्टिल तथा वायर उद्योगसँग आबद्ध छन् । उनी नेपाल इन्टरनेशनल कन्स्ट्रक्सन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक समेत हुन्। कम्पनीका प्रबन्ध निर्देशक स्वीकर आचार्य पर्यटन तथा सेवा क्षेत्रमा लामो अनुभव भएका व्यवसायी हुन्।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल ६० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले १९ करोड ५६ लाख रुपैयाँ दीर्घकालीन कर्जा र ४० करोड ४४ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।
Advertisment