चितवन : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भेलामा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण, सुशासन र संस्थागत सुधारलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कार निर्माणको आवश्यकता औंल्याएका छन्।
उनले नेपालको प्रमुख चुनौती स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचनाका कारण विकासको गति अवरुद्ध भएको बताएका छन्।
पार्टीको चौथो स्थापना दिवसको अवसरमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै डा. वाग्लेले रास्वपा कुनै राजनीतिक विभाजन वा सत्ता समीकरणको उपज नभई नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, असन्तुष्टि र परिवर्तनको आकांक्षाको लोकतान्त्रिक अभिव्यक्ति भएको बताए।
उनले विगतका राजनीतिक आन्दोलनहरूले लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतान्त्रिक संस्थाहरूको गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे।
उनका अनुसार नेपालमा निर्वाचनहरू नियमित भए पनि उत्तरदायित्व कमजोर रह्यो, संविधान निर्माण भए पनि संस्थागत क्षमता बलियो बन्न सकेन, राज्यको आकार विस्तार भए पनि सेवा प्रवाहको प्रभावकारिता बढ्न सकेन। यही कारणले आर्थिक गतिविधि विस्तार भए तापनि रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नागरिकको जीवनस्तर सुधारमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ थियो।
डा. वाग्लेले नेपालको आर्थिक विकासलाई अवरुद्ध गर्ने प्रमुख कारणका रूपमा पहुँच र प्रभावमा आधारित प्रणालीलाई औंल्याए। राजनीति, प्रशासन र व्यवसायिक क्षेत्रमा क्षमता तथा प्रतिस्पर्धाभन्दा पहुँच र सम्बन्धको प्रभाव बलियो हुँदा उद्यमशीलता, नवप्रवर्तन र लगानीको वातावरण कमजोर बनेको उनले बताए। ‘व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था विकसित भयो,’ उनले भने, ‘यसले प्रतिस्पर्धी अर्थतन्त्रको विकासलाई बाधा पुर्याएको छ।’
उनले राज्यको भूमिका सिर्जनशील र सक्षम बनाउनु पर्नेमा जोड दिँदै सरकारले अवसर विस्तार गर्ने, निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गर्नुपर्ने बताए। उनका अनुसार नेपाललाई समृद्धिको मार्गमा लैजान संरक्षणवाद, पहुँचवाद र आसेपासे पुँजीवादबाट मुक्त भई खुला प्रतिस्पर्धा, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न आवश्यक छ।
अर्थमन्त्री वाग्लेले रास्वपाले परिकल्पना गरेको आर्थिक दृष्टिकोणलाई व्याख्या गर्दै क्षमता र परिश्रमलाई सफलता प्राप्त गर्ने मुख्य आधार बनाइने बताए। उनले पहुँचका आधारमा अवसर वितरण गर्ने अभ्यासको अन्त्य गर्दै उत्पादन, लगानी, सीप र उद्यमलाई केन्द्रमा राखेर अर्थतन्त्र सञ्चालन गरिनुपर्ने धारणा राखे। ‘हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्,’ उनले भने।
नेपालमा युवा जनशक्तिको पलायनलाई प्रमुख आर्थिक तथा सामाजिक चुनौतीका रूपमा उल्लेख गर्दै उनले देशभित्रै सम्मानजनक रोजगारी, उद्यमशीलता र लगानीका अवसर विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। युवाहरूले अवसरको खोजीमा विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
उनले किसान, श्रमिक, उद्यमी र नवप्रवर्तकहरूलाई अर्थतन्त्रको प्रमुख चालक शक्ति मान्दै उनीहरूको क्षमता अभिवृद्धि र संरक्षणलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए। कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि तथा सेवा क्षेत्रमार्फत उत्पादन वृद्धि र निर्यात विस्तार गर्न सके मात्रै दीर्घकालीन आर्थिक समृद्धि सम्भव हुने उनले उल्लेख गरे।
डा. वाग्लेले सुशासन र आर्थिक विकासबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै राज्यका संस्थाहरूलाई राजनीतिक प्रभावबाट मुक्त गरी परिणाममुखी बनाउनु आवश्यक रहेको बताए। उनका अनुसार नागरिकमाथि शासन गर्ने होइन, नागरिकको सेवा गर्ने राज्यको अवधारणाले मात्र सार्वजनिक विश्वास पुनःस्थापित गर्न सक्छ। त्यसका लागि प्रशासनिक सुधार, पारदर्शिता, जवाफदेहिता र विधिको शासनलाई बलियो बनाउनु अपरिहार्य रहेको उनले बताए।
रास्वपाको प्रथम महाधिवेशनलाई उनले केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भका रूपमा रहेको बताए । निराशाबाट आशातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ तथा गैरजिम्मेवारीबाट जवाफदेहितातर्फको यात्राको उद्घोषका रूपमा महाधिवेशनलाई लिँदै उनले नयाँ पुस्ताले केवल प्रश्न उठाउने मात्र होइन, समाधान दिने र परिणाम हासिल गर्ने क्षमता पनि प्रदर्शन गर्नुपर्ने बताए।
उनले नेपालको भविष्य उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको संयोजनमा निहित रहेको उल्लेख गर्दै आर्थिक समृद्धि, संस्थागत सुधार र राजनीतिक संस्कारको रूपान्तरणलाई रास्वपाको आगामी कार्यदिशा हुने स्पष्ट पारे।
Advertisment