काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले विभिन्न निकायसँगको समन्वयमा झापा र मोरङका चार वटा खाद्य व्यवसायमा संयुक्त अनुगमन गरेको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत गतिविधि भेटिएपछि आवश्यक कारबाही तथा निर्देशन जारी गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा झापाको अर्जुनधारा–५ मा सञ्चालित फ्रुट एग्रो प्रडक्ट प्रालिमा उत्पादन हुँदै आएको ओआरएस ब्रान्डको म्याङ्गो ड्रिङ्क र अरेन्ज ड्रिङ्कको गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उक्त पेय पदार्थहरू सरकारले निर्धारण गरेको फलफूलजन्य पेय पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार उत्पादन नगरिएको पाइएको विभागले जनाएको छ।
मापदण्डअनुसार यस्ता पेय पदार्थमा कम्तीमा १० प्रतिशत फलफूलको रस समावेश हुनुपर्ने व्यवस्था रहे पनि सम्बन्धित उत्पादनमा आवश्यक मात्रामा फलफूलको रस समावेश नभएको पुष्टि भएको थियो।
मापदण्डविपरीत उत्पादन गरिएको प्रमाणित भएपछि ओआरएस ब्रान्डका ४९८ कार्टुन म्याङ्गो ड्रिङ्क र २५० कार्टुन अरेन्ज ड्रिङ्क गरी कुल चार लाख ९२ हजार ९३२ रुपैयाँ बराबरका उत्पादन सम्बन्धित निकायहरूको रोहबरमा नष्ट गरिएको विभागले जनाएको छ। उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय झापा तथा अर्जुनधारा नगरपालिकाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
यसैगरी मोरङको विराटनगरस्थित मिथिला थाली विराटनगर प्रालिमा गरिएको निरीक्षणका क्रममा मिठाई उत्पादनमा हाइड्रो तथा कृत्रिम अखाद्य रङको प्रयोग गरिएको भेटिएको थियो। अनुगमन टोलीले भण्डारण कक्षमा म्याद गुज्रिएका खाद्य सामग्री समेत राखिएको तथा खाद्य पदार्थ उत्पादन र तयारी गरिने स्थानको सरसफाइ अवस्था सन्तोषजनक नरहेको पाएको जनाएको छ।
निरीक्षणपछि पाँच किलोग्राम अखाद्य पदार्थ प्रयोग गरी बनाइएको मिठाई, करिब एक हजार रुपैयाँ बराबरका म्याद नाघेका खाद्य सामग्री तथा प्रयोगमा रहेका हाइड्रो र कृत्रिम रङ नष्ट गरिएको थियो।
साथै भविष्यमा यस्ता अखाद्य पदार्थको प्रयोग नगर्न, उत्पादन स्थलको संरचनागत सुधार गर्न तथा विभागले दिएका निर्देशनहरू कार्यान्वयन गरी यथाशीघ्र कार्यालयमा सम्पर्क गर्न व्यवसायीलाई निर्देशन दिइएको विभागले जनाएको छ।
उक्त अनुगमनमा विराटनगर महानगरपालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय तथा विभिन्न उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
विराटनगर–८ मा सञ्चालित हाम्रो मिथिला किचनमा गरिएको निरीक्षणका क्रममा पनि खाद्य स्वच्छतासम्बन्धी विभिन्न कमजोरीहरू फेला परेका छन्। निरीक्षणका क्रममा खाद्य पदार्थ तयारी हुने स्थानमा कीरा तथा अन्य बाह्य वस्तु प्रवेश रोक्न आवश्यक सुरक्षात्मक जालीको व्यवस्था नभएको, फ्रिजभित्र खाद्य सामग्री खुला अवस्थामा राखिएको तथा कार्यस्थलमा पर्याप्त प्रकाशको व्यवस्था नरहेको पाइएको थियो।
यद्यपि उक्त व्यवसाय क्लाउड किचनका रूपमा सञ्चालनमा रहेकाले अनुगमनका बेला उत्पादन गतिविधि भने भइरहेको भेटिएको थिएन। विभागले खाद्य तयारीका लागि स्टेनलेस स्टिलका भाँडा प्रयोग गर्न, प्रवेशद्वारमा जालीयुक्त ढोका जडान गर्न तथा कार्यस्थलमा पर्याप्त प्रकाशको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
त्यसैगरी विराटनगर–६ स्थित होटेल १००५ एण्ड फेमिली रेस्टुरेन्टमा गरिएको पुनः अनुगमनमा भने सकारात्मक सुधार देखिएको विभागले जनाएको छ। यसअघि निरीक्षणका क्रममा देखिएका कमजोरीका कारण आवश्यक सुधार नगरेसम्म उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको उक्त रेस्टुरेन्टले विभागीय निर्देशनअनुसार आवश्यक सुधारका काम पूरा गरेको पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ। विभागले रेस्टुरेन्टले खाद्य स्वच्छता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्थापन सुधार गरेपछि सञ्चालन प्रक्रिया पुनः सहज भएको जनाएको छ।
Advertisment