Below Menu
Below Menu

रास्वपामा रवि-बालेनको निर्विरोध यात्रा लगभग तय, महाधिवेशन लम्बिने

रास्वपामा रवि-बालेनको निर्विरोध यात्रा लगभग तय, महाधिवेशन लम्बिने

चितवन : भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिने संकेत देखिएको छ। महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भएपछि कार्यक्रम कम्तीमा एक दिन पछाडि धकेलिनसक्ने अनुमान गरिएको हो।

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएको त्रुटि सच्याउने काम समयमै पूरा हुन नसक्दा बन्दसत्र निर्धारित समयमा सुरु हुन नसकेको पार्टीले जनाएको छ। रास्वपाका प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै बन्दसत्र ढिला भएकाले महाधिवेशनको समग्र कार्यतालिका एक दिनसम्म प्रभावित हुनसक्ने बताए।

महाधिवेशनस्थलमा प्रतिनिधि र नेताहरूबीच निर्वाचनको माहोल पनि तातिएको छ। केही प्रतिनिधि तथा नेताहरू अनौपचारिक रूपमा केन्द्रीय सदस्य तथा पदाधिकारी पदका लागि मत माग्न व्यस्त देखिएका छन्।

रास्वपाको नयाँ नेतृत्व चयनका लागि १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ। यसमध्ये ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने तय भएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको छ। प्रवक्ता झाले प्रारम्भिक रूपमा तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि अहिले यो संख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने जानकारी दिए।

पार्टी सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह निर्विरोध हुने लगभग निश्चित रहेको बताइए पनि अन्य पदमा सहमतिको प्रयास जारी रहेको स्रोतले जनाएको छ।

शीर्ष नेताहरूबीच विभिन्न पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको छ।

रास्वपाको विधानअनुसार १९ सदस्यीय पदाधिकारीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने व्यवस्था छ। पार्टीको सचिवालय भने ३३ सदस्यीय हुनेछ।

महामन्त्री पदका लागि भने सबैभन्दा बढी आकांक्षी देखिएका छन्। आकांक्षीहरूको संख्या उल्लेख्य रहेकाले यही पदमा प्रतिस्पर्धा तीव्र हुने अनुमान गरिएको छ।

पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि अन्तिम निर्णय बन्दसत्रपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

Advertisment