काठमाडौं : इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले एक वर्षमै सवा १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले १० अर्ब ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । उक्त रकम गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।
कम्पनीको कुल आम्दानीमा इन्टरनेट सेवाको हिस्सा ५१ प्रतिशत हिस्सा, प्राविधिक सहयोग तथा निगरानी सेवाको हिस्सा ४३ प्रतिशत र बाँकी अन्य नेटवर्क तथा उपकरण बिक्रीको रहेको छ ।
यसका साथै कम्पनीको खर्च व्यवस्थापनमा सुधार र ब्याज खर्चमा कमी आएसँगै सन् २०२४ मा ३१.४५ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन पनि बढेर ३२.६१ प्रतिशत पुगेको छ ।
कम्पनीको आम्दानी र सञ्चालन नाफा बढेसँगै कुल नगद सञ्चिति पनि बढेको छ । यस अवधिमा कम्पनीको नगद आम्दानी ३ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ ।
वल्र्डलिङ्कले नेपालको इन्टरनेट सेवा प्रदायक (आईएसपी) क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्दै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका तथ्यांकअनुसार सन् २०२५ जुलाईसम्म कम्पनीको ग्राहक संख्या करिब १० लाख १० हजार पुगेको थियो । जुन कुल आईएसपी बजारको करिब ३२ प्रतिशत हिस्सा हो ।
त्यस्तै, सन् २०२६ अप्रिलसम्म कम्पनीका ग्राहक संख्या बढेर १० लाख ८० हजार पुगेको छ । कम्पनीले करिब ३१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
यद्यपि कम्पनीको प्रति ग्राहक औसत आम्दानी पछिल्ला तीन वर्षदेखि घट्दो क्रममा रहेको छ । सन् २०२४ मा ९२७ रुपैयाँ रहेको प्रति ग्राहक ग्राहक औसत आम्दानी सन् २०२५ मा घटेर ८४९ रुपैयाँमा पुगेको थियो । तर, सन् २०२६ को पहिलो छ महिनामा केही सुधार भई ८५९ रुपैयाँ पुगेको छ ।
वल्र्डलिङ्कको वित्तीय अवस्था पनि बलियो देखिएको छ । कम्पनीको ऋण-इक्विटी अनुपात सहज अवस्थामा रहेको छ भने ब्याज तिर्ने क्षमता १३.८९ गुणासम्म पुगेको छ । कम्पनीको कुल ऋण सञ्चालन नाफाको तुलनामा निकै कम रहेको रेटिङ एजेन्सीले जनाएको छ ।
कम्पनीमा हाल विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुले लगानी गरेका छन् । यसअघि सन् २०२३ मा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट एक अर्ब ८ करोड रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ९० करोड रुपैयाँ लगानी प्राप्त भएको थियो ।
त्यसपछि सन् २०२६ फेब्रुअरीमा फिनल्याण्डको सरकारी वित्त कम्पनी ‘फिनिस फण्ड फर इन्टरनेशनल कोअपरेसन लिमिटेड’ ले थप एक अर्ब ३९ करोड रुपैयाँ लगानी गरेको छ । यससँगै कम्पनीमा कुल विदेशी लगानी ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
कम्पनीको दीर्घकालीन तथा अल्पकालीन बैंकिङ सुविधाको क्रेडिट रेटिङ सुधार गरिएको छ । रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन बैंक सुविधाको रेटिङ ‘ए’ बाट बढाएर ‘एप्लस’ तथा अल्पकालीन बैंक सुविधाको रेटिङ ‘एप्लस२’ बाट ‘ए१’ मा स्तरोन्नति गरेको हो ।
कम्पनीले बैकिङ कर्जा सुविधाका लागि २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसअघि ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको थियो । कम्पनीले दीर्घकालिन कर्जाका लागि एक अर्ब १ करोड १० लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि एक अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको हो ।
सन् १९९६ मा स्थापना भएको वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड सन् २०१९ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । ‘वल्र्डलिंक’ ब्रान्ड नामबाट सेवा प्रदान गर्दै आएको कम्पनीको नेतृत्व संस्थापक तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले गरिरहेका छन् भने सञ्चालक समितिमा मनोज कुमार अग्रवाल र लक्ष्मण कुमार यादव रहेका छन् ।
Advertisment