Below Menu
Below Menu

नेपालमा प्रविधि शिक्षालाई रूपान्तरण गर्न लुम्बिनी टेक र रेडियन्ट कलेजबीच सहकार्य

नेपालमा प्रविधि शिक्षालाई रूपान्तरण गर्न लुम्बिनी टेक र रेडियन्ट कलेजबीच सहकार्य

बुटवल : लुम्बिनी प्रदेशमा प्रविधिमैत्री जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित लुम्बिनी टेक इनोभेसन सेन्टर र रेडियन्ट कलेजबीच ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

शिक्षा र सूचना प्रविधि उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीहरूलाई बजारको वास्तविक आवश्यकताअनुसार दक्ष बनाउने उद्देश्यले दुई संस्थाबीच सहकार्य अघि बढाइएको हो।

सम्झौताअनुसार अब परम्परागत कक्षाकोठा केन्द्रित शिक्षालाई व्यावहारिक तथा परियोजना(आधारित सिकाइसँग जोडिनेछ। सूचना प्रविधि क्षेत्रमा तीव्र रूपमा विकसित भइरहेका आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स, सफ्टवेयर इन्जिनियरिङलगायतका विषयलाई पाठ्यक्रममा समावेश गरी विद्यार्थीहरूलाई आधुनिक प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ।

दुवै संस्थाले विद्यार्थीहरूलाई अध्ययनसँगै उद्योगको वास्तविक कार्य वातावरणसँग परिचित गराउन विशेष कार्यक्रम सञ्चालन गर्नेछन्। यसअन्तर्गत लुम्बिनी टेकले इन्टर्नशिपको अवसर उपलब्ध गराउनेछ भने विद्यार्थीहरूलाई व्यावसायिक तथा सामुदायिक प्रविधि परियोजनाहरूमा प्रत्यक्ष संलग्न गराइनेछ।  

लुम्बिनी टेकको प्राविधिक सहयोगमा अत्याधुनिक सफ्टवेयर तथा एआई ल्याब स्थापना र सञ्चालन गरिनेछ ।  जसबाट विद्यार्थीहरूले नवीनतम प्रविधिसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन्। 

साथै, उद्योग क्षेत्रका विज्ञहरूद्वारा विशेष कक्षा सञ्चालन गरिने र प्राध्यापकहरूका लागि नियमित संकाय विकास कार्यक्रम आयोजना गरिने व्यवस्था पनि गरिएको छ। यसले शिक्षण पद्धतिलाई उद्योगको आवश्यकता अनुरूप अद्यावधिक गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

सम्झौतामा विद्यार्थीहरूको नवप्रवर्तन र अनुसन्धान क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति तथा आर्थिक अनुदानको व्यवस्था पनि समेटिएको छ। उत्कृष्ट, सिर्जनशील तथा नवीन सोच भएका विद्यार्थीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ।

यस समझदारी पत्रमा लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर राना र रेडियन्ट कलेजका प्रिन्सिपल अनन्त पाण्डेले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा लुम्बिनी टेकका संस्थापक निर्देशक कृष्ण सापकोटा साक्षीका रूपमा उपस्थित थिए।

सम्झौतापछि बोल्दै लुम्बिनी टेकका संस्थापक अध्यक्ष रानाले स्थानीय स्तरमै दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको बताए। विद्यार्थीहरूलाई प्राविधिक रोडम्याप, उद्योगको कार्यशैली तथा बजारको वास्तविक आवश्यकताबारे ज्ञान प्रदान गरेर उनीहरूलाई केवल शैक्षिक प्रमाणपत्रमा सीमित नराखी सफल करियर निर्माणतर्फ अग्रसर गराउने उद्देश्य रहेको उनको भनाइ थियो।

रेडियन्ट कलेजका प्रिन्सिपल पाण्डेले शिक्षा र उद्योगबीचको सहकार्य आजको आवश्यकता भएको उल्लेख गर्दै पाठ्यक्रममा उद्योगमैत्री मोड्युल तथा परियोजना(आधारित सिकाइ समावेश गरिएपछि विद्यार्थीहरूले अध्ययन पूरा गर्नेबित्तिकै रोजगारी र उद्यमशीलताका क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे।

Advertisment

थप समाचार