काठमाडौं : हरित तथा दिगो विकासका परियोजनामा लगानी केन्द्रित गर्दै आएको इष्टर्न सहारा कम्पनी लिमिटेडले पछिल्ला वर्षमा उल्लेखनीय रुपमा लगानी विस्तार गरेको छ ।
ग्रिन फाइनान्सिङलाई प्रवद्र्धन गर्ने उद्देश्य स्थापना भएको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब १० करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीका अनुसार हालसम्मको कुल लगानीमध्ये ५९ करोड ४० लाख रुपैयाँ आगामी परियोजनामा लगानीका लागि अग्रिम भुक्तानीको रूपमा रहेको छ ।कम्पनीले जलविद्युत्, सौर्य उर्जा, केषि पर्यटन, अटोमोबाइल व्यापार र लघुवित्तलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।
२०७९ साल (सन् २०२२ नोभेम्बर २७) मा सार्वजनिक लगनाी व्यवस्थापन कम्पनीका रुपमा स्थापना भएको इष्टर्न सहारा कम्पनी लिमिटेडले छोटो समयमानै उल्लेखनीय रुपमा लगानी विस्तार गरेको छ ।
कम्पनीको लगानी सन् २०२४ मा २४ करोड रुपैयाँ रहेकोमा सन् २०२५ मा आइपुग्दा एक अर्ब दुई करोड ४० लाख रुपैयाँ पुगेको थियो । चालु आवको नौ महिनासम्म भने यो रकम बढेर एक अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको हो ।
यस अवधिमा कम्पनीको पुँजी संरचनामा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । चुक्ता तथा शेयर आवेदन रकमसहितको कम्पनीको कुल पूँजी २०८१ साउनसम्म ३२ करोड ३० लाख रुपैयाँ रहेकोमा २०८२ वैशाखसम्म आइपुग्दा एक अर्ब १० करोड रुपैयाँ पुगेको थियाे ।
कम्पनीले विशेष साधारणसभा गरी हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । यसका साथै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरी पुँजी थप विस्तार गर्ने तयारी पनि अघि बढाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने साढे २७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गरी २७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिसकेको छ । आईपीओबाट संकलित रकम मुख्यतः जलविद्युत्, सौर्य ऊर्जा, कृषि पर्यटन तथा अन्य हरित पूर्वाधार परियोजनामा लगानी गरिने कम्पनीको योजना छ।
कम्पनीले सूचीकृत तथा असूचीकृत दुवै प्रकारका कम्पनीमा लगानी गर्दै आएको छ। विशेषगरी जलविद्युत्, सौर्य ऊर्जा, कृषि पर्यटन, कृषि प्रशोधन उद्योग, अटोमोबाइल व्यवसाय तथा लघुवित्त क्षेत्रमा दीर्घकालीन सम्भावना देखेर लगानी विस्तार गरिएको कम्पनीले जनाएको छ । हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार कम्पनीले ऊर्जा तथा वातावरणमैत्री परियोजनालाई प्राथमिकतामा राखेको छ ।
रेटिङ एजेन्सीले ईस्टर्न सहारा कम्पनी लिमिटेडलाई यसअघि प्रदान गरेको ‘डबल बी इश्युअर रेटिङ’ लाई पुनः पुष्टि गरेको छ । यो रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीका अधिकांश लगानी निर्माणाधीन वा प्रारम्भिक सञ्चालन चरणमा रहेका जलविद्युत् तथा अन्य दीर्घकालीन परियोजनामा केन्द्रित छन् । त्यसैले ती परियोजनाबाट तत्काल उल्लेखनीय आम्दानी आउन नसकेको उल्लेख गरिएको छ ।
हालसम्म कम्पनीको आम्दानी मुख्यतः ब्याज तथा लाभांशमा सीमित रहेको छ भने दीर्घकालीन लगानी रणनीति अपनाएकाले शेयर बिक्रीबाट ठूलो पूँजीगत लाभ वा उच्च लाभांश आम्दानी प्राप्त हुन अझै केही समय लाग्ने देखिएको छ ।
हाल कम्पनी पूर्ण रूपमा ऋणमुक्त रहेको छ । व्यवस्थापनले ऋण नलिने नीति अवलम्बन गरेका कारण ब्याजदरको जोखिम, पुनःवित्तीयकरणको दबाब तथा बजारमा तीव्र गिरावट आउँदा लगानी जबर्जस्ती बिक्री गर्नुपर्ने जोखिमबाट कम्पनी सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै सरकारले ऊर्जा क्षेत्रमा ल्याएका नीतिगत प्रोत्साहनले कम्पनीलाई थप सकारात्मक प्र्रभाव पार्ने रिपोर्टमा उल्लेख छ । सरकारले ४० मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त आयोजनाले तोकिएको समयभित्र वित्तीय व्यवस्थापन सम्पन्न गरेमा पहिलो १५ वर्ष पूर्ण आयकर छुट तथा त्यसपछिका ६ वर्ष ५० प्रतिशत कर छुट पाउने व्यवस्था गरिएको छ ।
साथै, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऊर्जा क्षेत्रमा न्यूनतम कर्जा प्रवाह गर्न निर्देशन दिएकाले उर्जा क्षेत्रमा लगानीको वातावरण थप अनुकूल बन्दै गएको छ ।
कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरी रहेका छन् । कम्पनीको प्रवद्र्धक तथा व्यवस्थापन टोली सहकारी, गैरसरकारी संस्था, जलविद्युत्, कृषि प्रशोधन, हरित वित्त, उत्पादन तथा अटोमोबाइल व्यवसायलगायत विभिन्न क्षेत्रमा एक दशकदेखि तीन दशकभन्दा बढी अनुभव भएका व्यक्तिहरूबाट नेतृत्वमा रहेको कम्पनीले जनाएको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको इष्टर्न सहारा कम्पनी लिमिटेडले छरिएको स-सानो पुँजी एकीकृत रुपमा परिचालन गर्दै ग्रिन फाइनान्सिङलाई प्रवद्र्धन गर्ने दीर्घकालिन लक्ष्य लिएको छ ।
*यसअघि चुक्ता पुँजी र आईपीओ निष्कासनको रकममा अन्यथा भएकाले सच्याईको छ ।