होटल व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासनः ‘करको दायरामा आउनुस्, सहकार्य गर्न सरकार तयार छ’

होटल व्यवसायीलाई प्रधानमन्त्रीको आश्वासनः ‘करको दायरामा आउनुस्, सहकार्य गर्न सरकार तयार छ’

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूको चिन्ता अब अन्त्य हुने बताएका छन् ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा उनले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल समेत उपस्थित बैठकमा प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्न, साना तथा मझौला होटललाई दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यबारे अध्ययन गर्न आग्रह गरे । 

सो क्रममा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको तर हाल १२ लाख पर्यटक मात्र आइरहेको जानकारी गराउँदै, पर्यटकको संख्या बढेमा आन्तरिक रोजगारी वृद्धि भई नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताए । 

नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) तथा क्रस–बोर्डर पर्यटनको प्रचुर सम्भावना औंल्याउँदै व्यवसायीहरूले सरकारसमक्ष विभिन्न नीतिगत मागहरू प्रस्तुत गरेका छन्। 

उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह बिजुली महसुलमा सहुलियत दिन, संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा २५ बेडबाट बढाएर ५० बेड पुर्याउन तथा पोखरा र भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवा सुधार गर्न माग गरे । 

साथै, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा रहेको ट्रेडमार्क रोयल्टीको ५ प्रतिशतको सीमा संशोधन गरी आपसी समझदारीमा मूल्य तय गर्ने व्यवस्था मिलाउन, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटनका लागि ‘फुल स्टोरी टेलिङ’ प्याकेज र विज्ञको व्यवस्था गर्न आग्रह गरिएको छ।

थप समाचार