बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्षका लागि सदस्यकेन्द्रित र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संस्थाले गर्भदेखि मृत्युसम्म सदस्यको जीवनका प्रत्येक चरणमा साथ दिने व्यवस्था गर्दै महिला तथा युवाको उद्यमशीलता विकासलाई विशेष प्राथमिकतामा राखेको छ।
संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले सदस्यको आर्थिक, सामाजिक र व्यावसायिक सशक्तीकरणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिए। उनका अनुसार वित्तीय सेवा विस्तार, वित्तीय तथा प्रविधि साक्षरता, व्यवसाय प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र संस्थागत सुशासन आगामी वर्षका मुख्य प्राथमिकता हुन्।
शर्माले सदस्य परिवारमा जन्मदेखि मृत्यु सम्मका सामाजिक तथा संस्कारजन्य कार्यमा सहकारीले साथ दिने बताए। गर्भवती सदस्यलाई पोषिलो खानेकुरा उपलब्ध गराउने, शिशु दर्शन कार्यक्रम सञ्चालन गर्ने, युवालाई उद्यमी बनाउन सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, विवाह समारोहमा शुभकामना भेट तथा मृत्यु संस्कारमा राहत रकम प्रदान गर्ने व्यवस्था गरिएको उनले बताए।
संस्थाले आगामी आर्थिक वर्षमा एक हजार ६२० नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ। साथै सदस्यका लागि वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवसाय परामर्श र सीपमूलक तालिममार्फत उद्यमशीलता विकासमा सहयोग गर्ने योजना अघि सारेको छ।

आकस्मिक स्वास्थ्य समस्यामा परेका सदस्यका लागि ‘बाटोमै राहत ऋण’ उपलब्ध गराइने, सदस्य शिक्षा, बाल बचत तथा छात्रवृत्ति कार्यक्रम, महिला, युवा र ज्येष्ठ सदस्य लक्षित विशेष कार्यक्रमलाई निरन्तरता दिइने पनि संस्थाले जनाएको छ।
वित्तीय लक्ष्यअनुसार संस्थाले शेयर पूँजी ३८ करोड ८७ लाख रुपैयाँबाट ३९ करोड १२ लाख रुपैयाँ, जगेडा कोष २० करोड १६ लाख रुपैयाँबाट २० करोड ७३ लाख रुपैयाँ तथा अन्य कोष २ करोड रुपैयाँबाट ३ करोड १७ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ। हाल १ अर्ब ६६ करोड ५६ लाख रुपैयाँ बचत रहेको संस्थाले आगामी वर्ष त्यसलाई १ अर्ब ७९ करोड ७२ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ।
संस्थाका सबै शाखा डिजिटल प्रणालीमा सञ्चालनमा आइसकेका छन्। एटीएम, क्यूआर कोडलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले आगामी वर्षदेखि बजार प्रतिनिधिविहीन सेवा प्रणाली लागू गर्ने अध्यक्ष शर्माले बताए। साथै एक हजार ६६० शेयर सदस्य थपेर कुल २८ हजार ७०० सदस्य पुर्याउने लक्ष्य पनि राखिएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार संस्थाको वित्तीय स्वास्थ्य थप सुदृढ बनाउने, पूँजी पर्याप्तता कायम गर्ने, सुशासन र पारदर्शिता अभिवृद्धि गर्ने तथा सदस्य सहभागिता बढाउने लक्ष्य लिइएको छ। हाल संस्थामा ३८ करोड ८७ लाख रुपैयाँ शेयर पूँजी, २० करोड रुपैयाँ जगेडा कोष, १ अर्ब ६६ करोड ५६ लाख रुपैयाँ बचत, १ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी, ६० करोड रुपैयाँ तरलता तथा २५ सदस्य सेवा केन्द्र रहेका छन्।
सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, रक्तदान, स्वास्थ्य परीक्षण, ट्राफिक सचेतना र विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि संस्थाले जनाएको छ।
कार्यक्रममा सहसचिव सुवास आचार्यले सञ्चालन, मोहनप्रसाद उपाध्यायले स्वागत मन्तव्य तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।