लुम्बिनी प्यालेस रिसोर्टको आम्दानी साढे १४ करोड, करिब ११ अर्ब लागतमा पाँच तारे होटल बनाउँदै 

लुम्बिनी प्यालेस रिसोर्टको आम्दानी साढे १४ करोड, करिब ११ अर्ब लागतमा पाँच तारे होटल बनाउँदै 

काठमाडौं : करिब ११ अर्ब रुपैयाँको अनुमानित लागतमा पाँचतारे होटल परियोजना निर्माण गरिरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडको सञ्चालन आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। पर्यटन गतिविधिमा आएको सुधार तथा आवास र बैंक्वेट व्यवसायबाट भएको योगदानका कारण कम्पनीको कारोबारमा वृद्धि देखिएको हो।

Sponsored Advertisement

कम्पनीले चालु आर्थिक वर्षको पहिलो १० महिनामा १४ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ। यसअघि सन् २०२५ मा कम्पनीको कुल सञ्चालन आम्दानी १४ करोड १० लाख रुपैयाँ पुगेको थियो भने सन् २०२४ मा को ११ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।  

कम्पनीले सन् २०२३ मा कम्पनीले १० करोड ११ लाख रुपैयाँ र सन् २०२२ मा ७२ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो। सन् २०२२ देखि २०२५ सम्म कम्पनीको कुल सञ्चालन आम्दानीमा करिब २२ प्रतिशतको वार्षिक वृद्धि दर देखिएको छ।

यद्यपि, सञ्चालन नाफा मार्जिनमा भने केही दबाब देखिएको छ। सन् २०२४ मा ५५.०७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ४४.७४ प्रतिशतमा झरेको थियो। चालु आर्थिक वर्षको १० महिनामा यस्तो मार्जिन ४३.३४ प्रतिशत कायम भएको छ।

कम्पनीका अनुसार इन–हाउस कृषि उत्पादनमा कमी आएपछि खरिद लागत बढेकाले सन् २०२५ मा सञ्चालन मार्जिनमा कमी आएको हो। तर, उच्च सञ्चालन स्तर र ब्याज खर्चमा आएको कमीका कारण कम्पनीको खुद नाफा मार्जिन सन् २०२४ को करिब ४ प्रतिशतबाट सन् २०२५ मा करिब ११ प्रतिशत पुगेको छ।

कम्पनीको ग्रस क्यास एक्रुअल्स पनि सन् २०२४ को १ करोड ६० लाख रुपैयाँबाट बढेर सन् २०२५ मा २ करोड ६० लाख रुपैयाँ पुगेको छ।

लुम्बिनी प्यालेस रिसोर्टको पूँजी संरचनामा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। सन् २०२३ मा ३.८४ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२४ मा २.६७ गुणा र सन् २०२५ मा १.२८ गुणामा झरेको थियो। चालु आर्थिक वर्षको १० महिनामा यो अनुपात थप सुधार हुँदै ०.२५ गुणामा सीमित भएको छ।

त्यसैगरी, टोटल आउटसाइड लायबिलिटिज टु ट्याङ्जिबल नेटवर्थ अनुपात सन् २०२३ को ३.९१ गुणाबाट घटेर सन् २०२५ मा १.३५ गुणा र चालु आर्थिक वर्षको १० महिनामा ०.३० गुणामा झरेको छ। 

ट्याङ्जिबल नेटवर्थमा भएको वृद्धि, इक्विटी इन्फ्युजन तथा अग्रिम शेयर पुँजीका कारण कम्पनीको पूँजी संरचनामा सुधार आएको रिपोर्टमा उल्लेख छ  । 

कम्पनीको ब्याज भुक्तानी क्षमता पनि क्रमशः सुधार भएको छ। ब्याज कभरेज अनुपात सन् २०२३ मा १.१८ गुणा, सन् २०२४ मा १.३३ गुणा र सन् २०२५ मा १.७४ गुणा पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो १० महिनामा यो अनुपात १.६१ गुणा कायम भएको छ।

लुम्बिनी प्यालेस रिसोर्टले १० अर्ब ९९ करोड ७० लाख रुपैयाँको अनुमानित लागतमा पाँचतारे होटल परियोजना निर्माण गरिरहेको छ। सन् २०२६ को १० महिनामा आइपुग्दा परियोजनाको वित्तीय प्रगति करिब ३५ प्रतिशत र भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ।

परियोजनाको पहिलो चरणअन्तर्गत २०० वटा कोठा निर्माण गरी सन् २०२७ को जनवरीदेखि व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। समग्र परियोजना सम्पन्न भएपछि रिसोर्टमा ४५० वटा कोठा रहनेछन्। पूर्ण परियोजना सन् २०३० सम्म सञ्चालनमा ल्याउने लक्ष्य कम्पनीको छ।

कम्पनीले अन्तर्राष्ट्रिय होटल ब्रान्ड मेरियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता गरी ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ विकास तथा सञ्चालन गर्ने तयारी गरेको छ।

रुपन्देहीको सियारी गाउँपालिका-५ मा निर्माण भइरहेको यो रिसोर्टलाई नेपालकै पहिलो जल–आधारित रिसोर्ट (वाटर रिसोर्ट) का रूपमा विकास गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

रिसोर्टमा अत्याधुनिक जल फोहरा, संगीतसँगै सञ्चालन हुने फोहरा, त्रि–आयामिक जल पर्दा, मोटर बोटिङ, मिनी क्रुज, जल रेस्टुरेन्ट, जल स्पा तथा विभिन्न जल मनोरञ्जन गतिविधि समावेश गरिनेछ।

‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ काठमाडौं उपत्यकाबाहिर मेरियट ब्रान्डअन्तर्गत सञ्चालन हुने पहिलो होटल बन्ने छ। यसका लागि लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र मेरियट इन्टरनेशनलको ग्लोबल हस्पिटालिटी लाइसेन्सिङ एसएआरएलबीच होटल व्यवस्थापन सम्झौता भइसकेको छ।

कम्पनीले बैकिङ कर्जा सुविधाका लागि ५ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जा सुविधाका लागि ५ अर्ब २९ करोड २९ लाख रुपैयाँ र अल्पकालीन बैंकिङ सुविधाका लागि २० करोड ३९ लाख रुपैयाँको रेटिङ गराएको हो । 

लुम्बिनी प्यालेस रिसोर्ट प्राइभेट लिमिटेडका रूपमा २४ डिसेम्बर २०१८ मा स्थापना भएको कम्पनी ८ डिसेम्बर २०२५ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो। त्यसपछि कम्पनीको नाम लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड कायम गरिएको छ।

कम्पनीको प्रमुख शेयरधनी टेरास इंक कम्पनी प्राइभेट लिमिटेड रहेको छ। कम्पनीको लुम्बिनी प्यालेस रिसोर्टमा १२.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षता चार्टर्ड अकाउन्टेन्ट दीपक पाण्डेले गरेका छन्। उनी एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपालका पूर्वअध्यक्षसमेत हुन्। सञ्चालक समितिमा एनआईसी एशिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत चार्टर्ड अकाउन्टेन्ट रोशनकुमार न्यौपानेसहित बैंकिङ, बीमा तथा व्यवसाय व्यवस्थापन क्षेत्रमा अनुभव भएका व्यक्तिहरू रहेका छन्।

थप समाचार