काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे हुने छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण र आवश्यक नीतिगत सुधारका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान तथा नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलियालगायत सहभागी हुनेछन्।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी हुने कार्यक्रम छ।
छलफलमा पुँजी बजारको विद्यमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रका चुनौती, क्षेत्रगत सुधारका सम्भावना, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाहरूको धारणा लिइने जनाइएको छ।