ब्रिटिश स्टिलको राष्ट्रियकरणविरुद्ध चिनियाँ कम्पनीले क्षतिपूर्ति माग्ने

ब्रिटिश स्टिलको राष्ट्रियकरणविरुद्ध चिनियाँ कम्पनीले क्षतिपूर्ति माग्ने

एजेन्सी : ब्रिटिश स्टिलको पूर्वमालिक चिनियाँ कम्पनी जिङ्ये ग्रुपले घाटामा रहेको स्टिल कम्पनीलाई राष्ट्रियकरण गर्ने बेलायती सरकारको निर्णयविरुद्ध क्षतिपूर्ति माग्ने जनाएको छ।

चीनको जिङ्ये ग्रुपले स्कन्थोर्पस्थित स्टिल कारखाना आर्थिक रूपमा सञ्चालन गर्न सम्भव नभएको भन्दै बन्द गर्ने योजना अघि सारेपछि बेलायतले एक वर्षअघि कारखानाको सञ्चालन आफ्नो नियन्त्रणमा लिएको थियो। बिहीबार बेलायती सरकारले उक्त कारखानालाई पूर्ण रूपमा राष्ट्रियकरण गरेको थियो।

आइतबार जारी विज्ञप्तिमा जिङ्येले बेलायत सरकारको कदमविरुद्ध अन्तिमसम्म कानुनी माध्यमबाट पूर्ण क्षतिपूर्ति माग्ने जनाएको छ।

बेलायती सरकारका प्रवक्ताका अनुसार आगामी शरद ऋतुमा सार्वजनिक गरिने क्षतिपूर्तिसम्बन्धी मस्यौदा नियमावलीमा क्षतिपूर्ति निर्धारण गर्ने प्रक्रिया समावेश हुनेछ। त्यस प्रक्रियाअन्तर्गत एक स्वतन्त्र मूल्याङ्कनकर्ताले क्षतिपूर्ति दिनुपर्ने हो वा होइन र, यदि दिनुपर्ने भए कति रकम दिनुपर्ने हो भन्ने निर्धारण गर्नेछ।

ब्रिटिश स्टिल किन राष्ट्रियकरण गरियो ?

चीनले शुक्रबार ब्रिटिश स्टिलको राष्ट्रियकरणको विरोध गर्दै बेलायती सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको थियो।

चीनको वाणिज्य मन्त्रालयले राष्ट्रियकरणको कदमले जिङ्ये ग्रुपको अधिकार र हितमा गम्भीर रूपमा हस्तक्षेप गरेको तथा बेलायतमा लगानी गरिरहेका चिनियाँ कम्पनीहरूको विश्वासमा गम्भीर असर पारेको जनाएको छ।

बेइजिङले चिनियाँ कम्पनीहरूलाई आफ्ना अधिकारको संरक्षण गर्न सहयोग गर्ने पनि मन्त्रालयले जनाएको छ। यद्यपि, त्यसका लागि कस्ता कदम चालिनेछन् भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।

बेलायती सरकारका प्रवक्ताले चिनियाँ स्टिल कम्पनीसँग भएका व्यावसायिक वार्ताबाट करदाताको पैसाको उचित मूल्य सुनिश्चित हुने कुनै सम्झौता हुन नसकेको बताएका छन्।

सरकारले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको, चिनियाँ लगानीका लागि खुला रहेको र बेलायती व्यवसायका लागि राम्रो अवसर सिर्जना गर्ने व्यापारिक सम्बन्ध विकास गर्न चीनसँग सहकार्य जारी राख्ने जनाएको छ।

स्कन्थोर्पस्थित स्टिल कारखानामा करिब २,७०० मानिस कार्यरत छन्। यसले नर्थ लिंकनशायरका अन्य उद्योगलाई समेत सहयोग गर्दै आएको छ। तर पछिल्ला केही वर्षदेखि कारखाना ठूलो अनिश्चितताको सामना गर्दै आएको थियो।

जिङ्येले सन् २०२० मा लिंकनशायरस्थित स्टिल कारखाना खरिद गरेको थियो। तर गत वर्ष मार्चमा कम्पनीले कारखाना बन्द गर्ने विषयमा परामर्श सुरु गरेको थियो। त्यसबेला कारखानाले दैनिक ७ लाख पाउन्ड घाटा व्यहोर्दै आएको बताइएको थियो।

बेलायती सरकारले अप्रिल २०२५ मा ब्रिटिश स्टिलको सञ्चालन आफ्नो नियन्त्रणमा लिएको थियो। तर यस सातासम्म कम्पनीको स्वामित्व जिङ्येकै हातमा रहेको थियो, जसका कारण कम्पनीको भविष्य निर्धारण गर्ने सरकारको क्षमता सीमित थियो।

बिहीबार बेलायती सरकारले महत्वपूर्ण राष्ट्रिय क्षमता जोगाउन कम्पनीलाई सार्वजनिक स्वामित्वमा ल्याइएको जनाएको थियो। यससँगै कारखानाको भविष्यबारे निर्णय गर्ने अधिकार सरकारसँग पुगेको छ।

मार्चमा सार्वजनिक गरिएको राष्ट्रिय लेखापरीक्षण कार्यालयको प्रतिवेदनअनुसार कारखाना सञ्चालनमा राख्न सरकारलाई दैनिक करिब १३ लाख पाउन्ड खर्च भइरहेको थियो।

तर व्यापारमन्त्री पिटर काइलले कारखाना बन्द हुन दिनु विकल्प नभएको बताएका छन्। उनले तत्कालका लागि सरकारले सञ्चालन खर्च व्यहोर्न जारी राख्ने बताए।

उनका अनुसार ब्रिटिश स्टिल बन्द भए बेलायतले आफ्नै देशमा प्राथमिक स्टिल उत्पादन गर्ने क्षमता गुमाउने र विश्वव्यापी आपूर्तिमा पूर्ण रूपमा निर्भर हुनुपर्ने अवस्था आउनेछ।

ब्रिटिश स्टिल सन् १९८८ मा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको सरकारले निजीकरण गर्नुअघि अन्तिमपटक राज्यको स्वामित्वमा रहेको थियो।

थप समाचार