रोयल इन्फिल्ड मोटरसाइकल एसेम्बल गर्ने टीजी अटो ग्रुपले गर्यो नौ महिनामै चार अर्बको व्यापार

रोयल इन्फिल्ड मोटरसाइकल एसेम्बल गर्ने टीजी अटो ग्रुपले गर्यो नौ महिनामै चार अर्बको व्यापार

काठमाडौं : नेपालमा रोयल इन्फिल्ड मोटरसाइकल एसेम्बल गर्दै आएको त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै ४ अर्ब १० लाख रुपैयाँको कारोबार गरेको छ। 

कम्पनीले गत आर्थिक वर्ष २०२५ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा २ अर्ब ९६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

नेपालमा एसेम्बल प्लान्ट स्थापना गरी व्यावसायिक उत्पादन सुरु गरेको छोटो अवधिमै कम्पनीले कारोबार र वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको हो। बिक्री परिमाणमा भएको वृद्धि तथा प्रतियुनिट मूल्य प्राप्तिमा सुधार आएपछि कम्पनीको आम्दानी बढेको जनाइएको छ।

कम्पनीको सञ्चालन नाफामा समेत सुधार देखिएको छ। सन् २०२५ मा ६.५७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको नौ महिनामा बढेर ८.४८ प्रतिशत पुगेको छ। यस अवधिमा कम्पनीको नगद सञ्चिति पनि बढेर २६ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२५ मा १९ करोड ७० लाख रुपैयाँ थियो।

टीजी अटो ग्रुपको पूँजी संरचना र ऋण व्यवस्थापनमा पनि उल्लेखनीय सुधार भएको छ। चालु आवको नौ महिनामा कम्पनीको समग्र गियरिङ ०.१२ गुणामा झरेको छ । जुन सन् २०२५ मा १.६३ गुणा थियो। त्यस्तै, ब्याज भुक्तानी क्षमता १९.९९ गुणाबाट बढेर २५.७३ गुणा पुगेको छ। 

कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात पनि २.१३ गुणाबाट घटेर ०.१६ गुणामा सीमित भएको छ। यसका साथै कम्पनीको कुल बैंकिङ सुविधा भने ७० करोड रुपैयाँबाट बढाएर १ अर्ब रुपैयाँ पुर्याइएको छ।  

टीजी अटो ग्रुप त्रिवेणी समूहअन्तर्गतको कम्पनी हो। कम्पनी नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको एकमात्र निर्माता तथा आधिकारिक आपूर्तिकर्ताका रूपमा सञ्चालनमा छ। बारामा करिब १ लाख वर्गफुट क्षेत्रफलमा रहेको कम्पनीको एसेम्बली प्लान्टको वार्षिक उत्पादन क्षमता २० हजार युनिट रहेको छ।

कम्पनीले सन् २०२३ को मेदेखि नेपालमै रोयल इन्फिल्ड मोटरसाइकलको व्यावसायिक उत्पादन सुरु गरेको हो। कम्पनीले रोयल इन्फिल्ड मोटरसाइकल लिमिटेडबाट कम्प्लिटली नक्ड डाउन (सीकेडी) कम्पोनेन्ट प्राप्त गरी नेपालमा मोटरसाइकल एसेम्बल गर्दै आएको छ। 

सरकारले सीकेडी एसेम्बली युनिटलाई कम्प्लिट्ली बिल्ट-अप सवारीसाधनको तुलनामा अन्तःशुल्क र भन्सार शुल्कमा क्रमशः ५० प्रतिशत र २५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अध्यक्ष वीरेन्द्रकुमार संघाई हुन्। नेपाली दुईपांग्रे बजारमा २५० सीसीभन्दा कम क्षमताका मोटरसाइकलबीच उच्च प्रतिस्पर्धा रहे पनि टीजी अटो ग्रुपले मुख्यतः २५० सीसीभन्दा माथिका मोटरसाइकल उत्पादन तथा बिक्री गर्दै आएको छ। 

विश्वभर लोकप्रिय र प्रिमियम ब्रान्डका रूपमा स्थापित रोयल इन्फिल्ड मोटरसाइकलको नेपालमा पनि माग उच्च रहेको कम्पनीको भनाइ छ। विशेषगरी ३५० सीसीभन्दा माथिको सेग्मेन्टमा रोयल इन्फिल्डको बजार माग बलियो रहेको जनाइएको छ।


 

थप समाचार