बजेट कार्यान्वयनमा योजनासहित जुट्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

बजेट कार्यान्वयनमा योजनासहित जुट्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई योजनासहित काम गर्न निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्र कार्यान्वयनको पहिलो चरण भएको बताए। विगतमा पूँजीगत खर्च र राजस्व संकलन दुवै क्षेत्रमा देखिएको कमजोर प्रदर्शन दोहोरिन नहुने उनले स्पष्ट पारे।

उनले तोकिएको पूँजीगत बजेटसमेत खर्च गर्न नसक्ने र राजस्व लक्ष्यसमेत हासिल गर्न नसक्ने अवस्था अब स्वीकार्य नहुने बताए। चालु आर्थिक वर्षमा कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च सुनिश्चित गर्नुपर्ने र ‘मिसन १६ खर्ब’ अन्तर्गत तय गरिएको राजस्व संकलन लक्ष्य पूरा गर्न सबै मन्त्रालयले परिणाममुखी रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।

गत आर्थिक वर्षमा पूँजीगत खर्च करिब ४९ प्रतिशतमा सीमित भएको र राजस्व संकलन पनि करिब १२ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा मात्रै पुगेको उल्लेख गर्दै उनले यस्तो नतिजा अब दोहोरिन नहुने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिए।

बजेट कार्यान्वयनका क्रममा देखिने कानुनी वा व्यावहारिक जटिलताबारे अर्थ मन्त्रालयलाई समयमै जानकारी गराउन र समाधान खोज्दै योजनाबद्ध रूपमा अघि बढ्न पनि उनले सचिवहरूलाई आग्रह गरे।

उनले बजेट कार्यान्वयनलाई थप सहज बनाउन गत आर्थिक वर्षदेखि रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरण गर्ने अधिकार सम्बन्धित मन्त्रालयमै प्रत्यायोजन गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारी उपयोग गर्न पनि सचिवहरूलाई आग्रह गरे।

थप समाचार