कर प्रणाली मजबुत बनाउन सरकारको जोड, सक्कली बिल लिने ग्राहकलाई नगद पुरस्कार

कर प्रणाली मजबुत बनाउन सरकारको जोड, सक्कली बिल लिने ग्राहकलाई नगद पुरस्कार

काठमाडौं : सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने योजना कार्यान्वयनमा ल्याउने भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट आधिकारिक बिल लिने उपभोक्ताले यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्यविधिअनुसार १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टबाट सेवा लिएर आधिकारिक बिल प्राप्त गर्ने उपभोक्ता पुरस्कार योजनामा स्वतः समावेश हुनेछन्। यसका लागि नगद वा डिजिटल दुवै माध्यमबाट गरिएको भुक्तानी मान्य हुनेछ।

योजनाअन्तर्गत आधिकारिक बिलमा उल्लेख भएको नम्बरलाई आधार मानेर दैनिक एक जना नेपाली नागरिकलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। त्यस्तै, प्रत्येक महिना दुई जना सहभागीलाई जनही १० लाख रुपैयाँको बम्पर पुरस्कार उपलब्ध गराइनेछ।

मन्त्रालयका अनुसार पुरस्कार विजेताको घोषणा महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी प्रत्येक महिनामा दुई पटक गरिनेछ। यसका लागि आवश्यक कार्यविधि तयार भइसकेको र कार्यक्रम छिट्टै सञ्चालनमा आउने जनाइएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको यो कार्यक्रमले उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्नुका साथै कर छली नियन्त्रण, कारोबारको अभिलेखीकरण र राजस्व संकलनलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

थप समाचार