बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले गर्यो एक वर्षमा ३२ अर्ब ३५ करोडको व्यापार 

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले गर्यो एक वर्षमा ३२ अर्ब ३५ करोडको व्यापार 

काठमाडौं : बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा १२.२७ प्रतिशतले बढी हो कम्पनीले सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । 

यसअघि कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा २७ अर्ब रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा तथा खुद नाफा मार्जिन स्थिर रहेको उल्लेख गरिएको छ। न्यून ऋणका कारण यसको ऋण भुक्तानी क्षमता बलियो रहेको रिपोर्टमा जनाइएको छ। कम्पनीले कुनै दीर्घकालीन बैंक ऋण लिएको छैन। सन् २०२५ सम्म रहेको दायित्व मुख्यतः लिज दायित्वमा सीमित रहेको छ भने कुल गियरिङ अनुपात ०.०१ गुणा मात्र रहेको उल्लेख छ।

सोही अवधिसम्म कम्पनीसँग बैंक निक्षेपमा ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ, नगद मौज्दातमा २१ करोड ६० लाख रुपैयाँ तथा ट्रेजरी बिलमा करिब १ अर्ब २० लाख रुपैयाँ रहेको छ। कम्पनीले विगतदेखि नै आफ्ना शेयरधनीलाई नियमित रूपमा लाभांश वितरण गर्दै आएको जनाएको छ।

कम्पनीले पछिल्ला तीन वर्षदेखि घोषणा सार्वजनिक गरेको छैन। यसअघि सन् २०२२ मा १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गरेको थियो। सन् २०२१ मा ९ अर्ब ४१ करोड रुपैयाँ, सन् २०२० मा ९ अर्ब ८५ करोड रुपैयाँ तथा सन् २०१९ मा ९ अर्ब १३ करोड रुपैयाँ लाभांश वितरण गरेको थियो।

सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत स्वामित्व रहेको छ भने बाँकी ३९ प्रतिशत नेपाली लगानीकर्ताको स्वामित्वमा छ। कम्पनीका प्रमुख शेयरधनीमध्ये पूर्वराजा ज्ञानेन्द्र शाहको १० प्रतिशत र सिद्धार्थ राणाको ६ प्रतिशत हिस्सा रहेको छ।

सन् १९१० मा स्थापना भएको आईटीसी भारतको अग्रणी एफएमसीजी कम्पनीमध्ये एक हो । कम्पनीले चुरोट, प्याकेज्ड खाद्य पदार्थ, व्यक्तिगत हेरचाह सामग्री, शिक्षा तथा स्टेशनरी सामग्री, अगरबत्ती, होटल, कृषि व्यवसाय, पेपरबोर्ड, कागज तथा प्याकेजिङलगायत विभिन्न क्षेत्रमा कारोबार गर्दै आएको छ। साथै, आईटीसीको एग्री बिजनेस डिभिजनले सूर्य नेपालका लागि आवश्यक तम्बाकु पातको आपूर्ति गर्दै आएको छ।

सूर्य नेपालले चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा चुरोट उत्पादन गर्दै आएको छ । कम्पनीका सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पञ्च, खुकुरी स्टार, बिजुली तथा चौतारी लगायतका ब्रान्ड बजारमा स्थापित छन् ।

कम्पनीसँग देशभर फैलिएको वितरण सञ्जाल रहेको र १५० भन्दा बढी ग्राहकसँग प्रत्यक्ष कारोबार हुने उल्लेख गरिएको छ । कुल आम्दानीमा अगरबत्ती व्यवसायको हिस्सा तुलनात्मक रूपमा कम रहेको जनाइएको छ।

कम्पनीका अध्यक्ष सञ्जीव पुरी आईटीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन् । भारतीय प्राविधिक संस्थान कानपुर तथा ह्वार्टन स्कुल अफ बिजनेसका पूर्वविद्यार्थी पुरीले उत्पादन, सञ्चालन तथा डिजिटल प्रविधिलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनी यसअघि सूर्य नेपालका प्रबन्ध निर्देशकसमेत रहिसकेका थिए । 

सन् १९८६ मा सञ्चालन सुरु गरेको सूर्य नेपाल नेपालका निजी क्षेत्रका सबैभन्दा ठूला उत्पादनमूलक उद्योगमध्ये एक हो । कम्पनीले हाल चुरोट, अगरबत्ती र ब्रान्डेड प्याकेज्ड खाद्य पदार्थको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कम्पनीको पूर्ण स्वामित्वको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले अगरबत्ती उत्पादन तथा बिक्री गर्दै आएको छ । यसै वर्ष कम्पनीले ‘मरानी’ ब्रान्डमार्फत प्रिमियम महको निर्यातसमेत सुरु गरेको छ।

कम्पनीले अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । 
 
 
 
 
 

थप समाचार