तराईमा बढ्दो तनावप्रति निजी क्षेत्रको गम्भिर चिन्ता, सामाजिक सद्भाव र अर्थतन्त्र जोगाउन आह्वान 

तराईमा बढ्दो तनावप्रति निजी क्षेत्रको गम्भिर चिन्ता, सामाजिक सद्भाव र अर्थतन्त्र जोगाउन आह्वान 

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता देखिएको अशान्ति, हिंसा तथा सामाजिक तनावप्रति निजी क्षेत्रका तीन प्रमुख छाता संगठनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

Sponsored Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) ले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन्।

एफएनसीसीआईले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।

महासंघका अनुसार हिंसा, द्वेष र सामाजिक विग्रहले नागरिकको जनजीवन मात्र नभई उद्योग, व्यापार, लगानी र समग्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पार्छ। आर्थिक विकास र समृद्धिको आधार शान्ति र सामाजिक सद्भाव भएकाले सबै प्रकारका मतभेद संवाद, सहकार्य र आपसी समझदारीबाट समाधान गर्नुपर्नेमा महासंघले जोड दिएको छ।

महासंघले प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग आग्रह गर्दै अफवाह, उत्तेजना र हिंसात्मक गतिविधिबाट टाढा रहन सबै पक्षलाई अपिल गरेको छ। साथै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम र स्थानीय समुदायले दिगो शान्ति स्थापना गर्न जिम्मेवार भूमिका खेल्नुपर्ने जनाएको छ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सले तराईका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। चेम्बरले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन आग्रह गर्दै नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको सहअस्तित्वमा आधारित राष्ट्र भएकाले यही विविधता मुलुकको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेको छ।

चेम्बरले अफवाह, भ्रामक सूचना र हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकलाई आग्रह गर्दै कुनै पनि असहमति मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने जनाएको छ। साथै शान्ति, सुरक्षा र जनजीवन सामान्य बनाउन सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल र समुदायका अगुवाले गरिरहेका प्रयासको प्रशंसा गर्दै खुला संवाद, पारदर्शिता र आपसी सम्मानका आधारमा सहकार्यलाई निरन्तरता दिन आग्रह गरेको छ।

चेम्बरले धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, सञ्चारमाध्यम र निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गरेको छ। स्थिर र सुरक्षित वातावरणमा मात्रै उद्योग, व्यापार र लगानी विस्तार सम्भव हुने चेम्बरको भनाइ छ।

उता, नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि सुनसरीको कप्तानगञ्जबाट सुरु भई पूर्वी नेपालका केही जिल्लामा फैलिएको तनावप्रति गम्भीर चासो व्यक्त गरेको छ। परिसंघले नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै यही पहिचान जोगाउन सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।

परिसंघका अनुसार कुनै पनि विवाद वा असन्तुष्टिको दिगो समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ। आन्दोलन, हिंसा र मुठभेडले समस्या थप जटिल बनाउने भएकाले सबै पक्षले धैर्यता र जिम्मेवारीका साथ शान्ति कायम गर्न सहयोग गर्नुपर्नेमा परिसंघले जोड दिएको छ।

अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले यस्ता घटनाले आर्थिक गतिविधि, लगानी र रोजगारी सिर्जनामा प्रतिकूल असर पार्ने परिसंघको भनाइ छ। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, बजार बन्द र लुटपाटप्रति पनि परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ।

सीएनआईले आम नागरिक र उद्योग–व्यवसायको सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रदेश तथा जिल्ला संघहरू, निजी क्षेत्रका अन्य संस्था र सरोकारवालासँग सहकार्य गरी सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ।

तीनै निजी क्षेत्रका छाता संगठनले वर्तमान परिस्थितिमा विभाजन र टकरावभन्दा संवाद, सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रभावित क्षेत्रमा चाँडै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन्।

थप समाचार