काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखिएका हिंसात्मक घटना, अशान्तिपूर्ण गतिविधि तथा त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएकाले विविधताभित्रको एकता, सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा नै देशको सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट पारिएको छ।
नाडाका अनुसार यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र असर नगरी आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले व्यवसायी समुदाय गम्भीर रूपमा चिन्तित बनेको छ।
एशोसिएशनले सबै सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअन्तर्गत संवाद, सहकार्य र आपसी समझदारीमार्फत समस्याको शीघ्र तथा दिगो समाधान खोज्न आग्रह गरेको छ।
त्यसैगरी, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामान्य जनजीवनलाई सहज बनाउन तथा व्यवसायिक वातावरणलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन प्रभावकारी पहल गर्न अनुरोध गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई अझ सुदृढ बनाउन सबै नेपाली नागरिकले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।