काठमाडौं : काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार ९१२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२र८३ मा ६६७ वटा संस्थाले मात्रै नवीकरण गरेका छन्।
महानगरको सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो।
विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत आर्थिक वर्षमा १०३ सहकारीका १ हजार ७१२ ऋणीलाई एसएमएस र पत्राचारमार्फत ऋण भुक्तानीका लागि सहजीकरण गरिएको छ। त्यसैगरी ५८ सहकारीमा बचतकर्ता र व्यवस्थापनबीच देखिएका विवाद मेलमिलापमार्फत समाधान गरिएको छ।
कार्यवाहक प्रमुख डंगोलले बचतकर्ताको रकम सुरक्षित राख्न उजुरीको प्रतीक्षा नगरी सम्भावित जोखिम पहिचान गरी समयमै कानुनी, प्रशासनिक र व्यावहारिक उपाय अवलम्बन गर्न विभागलाई निर्देशन दिएकी छन्।
महानगरका अनुसार हालसम्म १० हजार २३४ बचतकर्ताले ८ अर्ब १९ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत फिर्ताको माग गर्दै उजुरी दर्ता गराएका छन्। ती उजुरीका आधारमा ९१५ सहकारीविरुद्ध कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्राचार गरिएको छ भने १८७ सहकारीलाई थप कारबाहीका लागि सिफारिस गरिएको छ।
वार्षिक विवरणअनुसार विभागले ४० सहकारीको सघन अनुगमन, १६३ संस्थाको सूक्ष्म निरीक्षण तथा ७० संस्थाको विनियम संशोधन स्वीकृत गरेको छ। साथै गैरनेपाली नागरिकलाई सदस्य बनाएर बचत संकलन गर्ने सहकारी संस्थालाई रोक लगाउन सार्वजनिक सूचना जारी गरिएको विभागले जनाएको छ।