Below Menu

ओमन बजारमा ‘मेड इन नेपाल’ प्रवद्र्धन गर्न फिन र एनआरएनएबीच समझदारी

ओमन बजारमा ‘मेड इन नेपाल’ प्रवद्र्धन गर्न फिन र एनआरएनएबीच समझदारी

काठमाडौं : नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमनको बजारमा प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ नेपाल (फिन) र गैरआवासीय नेपाली सोसल क्लब ओमनबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मस्कटमा शुक्रबार आयोजित कार्यक्रममा फिनका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा ओमनका लागि नेपाली कार्यवाहक राजदूत विशेष कुमार साहको उपस्थिति रहेको थियो ।

समझदारीअनुसार ओमनमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् । यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुने फिनका उपाध्यक्ष किरण कुमार डंगोलले बताए ।

सम्झौतामा ‘मेड इन नेपाल’ उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । ओमनमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, फेल्ट, गार्मेन्ट, कार्पेट, जडिबुटीजन्य सामग्री तथा परम्परागत पोशाकलगायत नेपाली उत्पादनको प्रवद्र्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिनेछ ।

त्यस्तै, ओमनको भन्सार प्रक्रिया, आयातसम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे गैरआवासीय नेपाली सोसल क्लबले फिनलाई आवश्यक जानकारी तथा मार्गदर्शन उपलब्ध गराउनेछ । फिनले भने ओमनका आयातकर्तालाई नेपालका भरपर्दा निर्यातकर्ताको सूची तथा उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण उपलब्ध गराउने समझदारी भएको छ ।

समझदारीले नेपालका उत्पादक र ओमनमा रहेका नेपाली व्यवसायी तथा आयातकर्ताबीच प्रत्यक्ष सम्पर्क विस्तार गरी अनावश्यक बिचौलिया लागत घटाउने लक्ष्यसमेत राखेको छ । यसबाट नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै उत्पादकले आफ्ना वस्तुको उचित बजार मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको फिनका अध्यक्ष घिमिरेले बताए ।

नेपालको प्रशोधन, उत्पादन तथा निर्यातजन्य उद्योगमा गैरआवासीय नेपाली तथा ओमानी लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने र आवश्यक मार्गदर्शन उपलब्ध गराउने विषयसमेत समझदारीमा समेटिएको छ ।

ओमन भ्रमणमा रहेको नेपाली टोली शुक्रबार राति नै नेपाल फर्किएको छ ।

थप समाचार