काठमाडौं : नेशनल मोटर्सले सन् २०२५ मा एक अर्ब १९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२३ मा एक अर्ब ४६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२६ को ११ महिनामा करिब ५० करोड ७० लाख रुपैयाँको बिक्री गरेको जनाएको छ ।
व्यवसायको आकार बढे पनि कम्पनीको नाफा मार्जिनमा भने दबाब देखिएको छ। उच्च इनपुट लागतका कारण सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा ८ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। सन् २०२४ मा यस्तो नाफा ९ करोड ९० लाख रुपैयाँ थियो। यससँगै सञ्चालन नाफा मार्जिन ९.०१ प्रतिशतबाट घटेर ७.३३ प्रतिशतमा झरेको छ।
कम्पनीको खुद नाफा कमाउने क्षमता पनि पछिल्ला वर्षमा कमजोर देखिएको छ। सन् २०२३ देखि २०२५ सम्म कम्पनीको खुद नाफा मार्जिन १ प्रतिशतभन्दा तल रहेको छ। सञ्चालन आम्दानीमा वृद्धि भए पनि लागत बढ्दा त्यसको प्रभाव नाफामा परेको देखिन्छ।
कम्पनीको आम्दानीको मुख्य आधार पछिल्लो समय टायर व्यवसाय बनेको छ। सन् २०२४ मा कुल बिक्रीको करिब ७२ प्रतिशत अर्थात् ७५ करोड २० लाख रुपैयाँ टायर बिक्रीबाट आएको थियो। सन् २०२५ मा टायर बिक्रीको योगदान बढेर कुल बिक्रीको करिब ९३ प्रतिशत पुगेको छ। उक्त वर्ष कम्पनीले टायरबाट मात्रै १ अर्ब ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।
यसको विपरीत सवारीसाधन बिक्रीबाट हुने आम्दानीमा भने उल्लेख्य गिरावट आएको छ। सन् २०२४ मा २४ करोड रुपैयाँ रहेको सवारीसाधन बिक्री आम्दानी सन् २०२५ मा घटेर ४ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको समग्र गियरिङ अनुपात पनि बढेको छ। सन् २०२४ मा ३.०५ गुणा रहेको गियरिङ अनुपात सन् २०२५ मा बढेर ३.८५ गुणा पुगेको छ। कम्पनीको चालु सम्पत्ति, विशेषगरी इन्भेन्ट्रीमा भएको वृद्धिका कारण ऋणको आवश्यकता बढेको बताइएको छ।
कम्पनीको ऋण तिर्ने क्षमता पनि दबाबमा रहेको देखिन्छ। सन् २०२५ मा ब्याज भुक्तानी क्षमता १.१४ गुणा रहेको छ। त्यस्तै, कुल ऋणको तुलनामा सकल नगद आर्जनको अनुपात सन् २०२४ को १११.७३ गुणाबाट बढेर २०२५ मा १४३.५१ गुणा पुगेको छ। कम्पनीसँग कुल ८० लाख रुपैयाँ नगद सञ्चिति रहेको छ।
नेशनल मोटर्स नेपालको अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय कम्पनी हो। सन् १९९८ जुलाई २१ मा स्थापना भएको यो कम्पनी नेशनल ग्रुपअन्तर्गत सञ्चालित छ र सञ्जयकुमार अग्रवालको पूर्ण स्वामित्वमा रहेको छ। कम्पनीले लाइट कमर्सियल भेहिकल, अटो स्पेयर पार्ट्स तथा विभिन्न प्रकारका टायर र ट्युबको कारोबार गर्दै आएको छ।
कम्पनीले इसुजु मोटर्स लिमिटेडका सवारीसाधन तथा अपोलो टायरको कारोबार गर्दै आएको छ। नेपालका प्रमुख शहरमा कम्पनीका सातवटा डिलर रहेका छन्। काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, उर्लाबारी, सुर्खेत र नारायणघढमा रहेका डिलरमार्फत कम्पनीले बजार विस्तार गरिरहेको छ।
त्यस्तै, काठमाडौंको जडीबुटी र विराटनगरमा कम्पनीका सेवा केन्द्र छन्। विराटनगरको धरान रोडमा सवारीसाधनको एउटा तथा काठमाडौंको कुलेश्वर र तीनकुनेमा टायर तथा स्पेयर पार्ट्सका दुईवटा शोरुम सञ्चालनमा छन्।
नेशनल मोटर्सको दीर्घकालीन बैंक सुविधा सन् २०२४ को ३२ करोड ९ लाख रुपैयाँबाट घटेर २०२५ मा २२ करोड ९८ लाख रुपैयाँमा झरेको छ। तर, अल्पकालीन बैंक सुविधा भने ८७ करोड ९ लाख रुपैयाँबाट बढेर ९७ करोड १६ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल बैंकिङ सुविधा करिब १ अर्ब २० करोड रुपैयाँ कायम भएको छ।