Below Menu

प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै

काठमाडौं : संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै मन्त्रालयगत मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन्।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।

यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन्।

थप समाचार