काठमाडौं : स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ११ करोड १८ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलानमा २४१.५० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले तीन करोड २७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद सञ्चालन नाफा बढेका कारण नाफामा उल्लेख्य वृद्धि देखिएको हो । तथापी वित्तीय खर्च भने बढेको छ ।
अघिल्लो वर्ष विद्युत बिक्रीमार्फत १८ करोड ६९ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असार मसान्तसम्म आइपुग्दा ३७ करोड ७५ लाख १० हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०१.९५ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको खुद सञ्चालन मुनाफा १११.३९ प्रतिशतले बढेर २४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ११ करोड ७८ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी कम्पनीको कुल नाफा १७ करोड १६ लाख २७ हजार रुपैयाँबाट बढेर ६४ करोड ११ लाख ३८ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २७३.५९ प्रतिशतले बढी हो ।
त्यस्तै, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.७७ प्रतिशतले बढेर १३ करोड २६ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४.३७ रुपैयाँबाट बढेर ११.९३ रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६५.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२.०९ रुपैयाँ रहेको छ।
असार मसान्तसम्म ९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख ६० हजार रुपैयाँ सञ्चित छ ।