Below Menu

वित्तीयपोस्ट डटकममा पनि ‘वेब एक्सेसिबिलिटी’ सुविधा, समाचार पोर्टलमै पहिलो पहल

वित्तीयपोस्ट डटकममा पनि ‘वेब एक्सेसिबिलिटी’ सुविधा, समाचार पोर्टलमै पहिलो पहल

काठमाडौं : सूचना तथा समाचारमा सबैको समान पहुँच हुनुपर्छ भन्ने मान्यताका साथ वित्तीयपोस्ट डटकमले ‘वेब एक्सेसिबिलिटी’ सुविधा सञ्चालनमा ल्याएको छ । डिजिटल पत्रकारिताको विस्तारसँगै प्रविधिको प्रयोगबाट कुनै पनि नागरिक समाचार तथा सूचनाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वेबसाइटलाई थप पहुँचयोग्य बनाइएको हो। समाचार पोर्टलहरूमा यस्तो सुविधा सुरु गर्ने वित्तीयपोस्ट डटकम पहिलो बनेको हो।

वित्तीयपोस्ट डटकमले वेबसाइटलाई सबै वर्गका पाठकका लागि सहज, समावेशी र पहुँचयोग्य बनाउने उद्देश्यले अन्ट्राबाईट इन्टरनेशनल प्रा.लि.सँगको सहकार्यमा ‘वेब एक्सेसिबिलिटी’ सुविधा सञ्चालनमा ल्याएको हो।

विशेषगरी दृष्टिविहीन, न्यून दृष्टि भएका, कलर ब्लाइन्ड तथा शारीरिक रूपमा अशक्त प्रयोगकर्तालाई समाचार सामग्रीमा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो सुविधा सुरु गरिएको हो ।

अब वित्तीयपोस्ट डटकममा प्रवेश गर्दा प्रयोगकर्ताले ‘एक्सेसिबिलिटी आइकन’मार्फत विभिन्न सुविधा प्रयोग गर्न सक्नेछन् । उक्त मेनुबाट पाठकले आफ्नो आवश्यकता र सहजताअनुसार वेबसाइटको स्वरूप परिवर्तन गर्न सक्नेछन्।

यसअन्तर्गत फन्ट साइज बढाउने वा घटाउने, कलर कन्ट्रास्ट मिलाउने, कलर फिल्टर प्रयोग गर्ने, अक्षर तथा हरफबीचको दूरी (ट्र्याकिङ र लिडिङ) समायोजन गर्ने, माउस कर्सर ठूलो बनाउने तथा वेबसाइटका एनिमेसन रोक्ने लगायतका सुविधा उपलब्ध छन्।

त्यस्तै, किबोर्डको ‘ट्याब’ प्रयोग गरेर वेबसाइटका विभिन्न भागमा सहज रूपमा पुग्न सकिने व्यवस्था गरिएको छ । दृष्टिविहीन प्रयोगकर्ताले प्रयोग गर्ने स्क्रिन रिडर सफ्टवेयरलाई सहज हुने गरी वेबसाइटको संरचना तयार गरिएको छ। तस्बिर तथा ग्राफिक्समा आवश्यक ‘अल्ट टेक्स्ट’ प्रयोग गरिएकाले स्क्रिन रिडरमार्फत सामग्री बुझ्न समेत सहज हुने छ।

वेबसाइटका विभिन्न इनपुट तथा सम्पर्क फारामहरूलाई समेत पहुँचयोग्य बनाइएको छ। प्रयोगकर्ताले फाराम भर्दा देखिने त्रुटि तथा आवश्यक सुझावहरू बुझ्न सक्ने गरी संरचना तयार गरिएको छ ।

सरकारले समेत हालै एकीकृत सरकारी वेबसाइट व्यवस्थापन प्रणालीमा आबद्ध ८०० भन्दा बढी सरकारी निकायका वेबसाइटमा ‘वेब एक्सेसिबिलिटी’ सुविधा कार्यान्वयनमा ल्याएको थियो।

थप समाचार