Below Menu

एम बैंक र एनएमसीबीच रणनीतिक सहकार्य, एउटै माध्यमबाट बैंकिङदेखि डिजिटल कर्जासम्म

एम बैंक र एनएमसीबीच रणनीतिक सहकार्य, एउटै माध्यमबाट बैंकिङदेखि डिजिटल कर्जासम्म

काठमाडौं : नेपालको डिजिटल वित्तीय सेवा क्षेत्रमा एक दशकदेखि सक्रिय मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ र झापा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) बीच रणनीतिक सहकार्य भएको छ। सहकार्यसँगै एनएमसीका सदस्यले एउटै डिजिटल माध्यमबाट बैंकिङ, भुक्तानी तथा डिजिटल कर्जासम्बन्धी सेवा लिन सक्ने भएका छन्।

एनएमसीले जेठ २९ गते ‘एम बैंक’सँग सम्झौता गरी साउन ७ गते बिहीबारदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। डेढ लाखभन्दा बढी सदस्य तथा ५७ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको एनएमसीसँगको सहकार्यलाई डिजिटल वित्तीय सेवाको विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सहकार्यसँगै एनएमसीका सदस्यले मोबाइल एपमार्फत बचत तथा बैंकिङ सेवाका साथै क्यूआरमार्फत भुक्तानी, अन्तरसंस्था रकम स्थानान्तरण, उपयोगिता शुल्क भुक्तानी, डिजिटल भुक्तानी तथा ग्राहक विवरण अद्यावधिकलगायतका सेवा लिन सक्नेछन्।

एम बैंकले परम्परागत मोबाइल बैंकिङ सेवाभन्दा अघि बढ्दै बैंकिङ, भुक्तानी र कर्जासम्बन्धी सेवा एउटै डिजिटल माध्यमबाट उपलब्ध गराउने अवधारणालाई अघि सारेको जनाएको छ। यसबाट सदस्यले खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने र विभिन्न शुल्क भुक्तानी गर्ने मात्र नभई दैनिक वित्तीय आवश्यकताका अधिकांश सेवा मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

सहकार्यको अर्को महत्वपूर्ण पक्ष डिजिटल कर्जा सेवा रहेको छ। नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल वित्तीय सेवाको अवधारणाअनुसार एम बैंक र एनएमसीले चरणबद्ध रूपमा डिजिटल कर्जा सेवा विस्तार गर्ने योजना बनाएका छन्।

यसअन्तर्गत मुद्दती निक्षेप धितोमा कर्जा, आवधिक बचत धितोमा कर्जा, कर्जा भुक्तानी, कर्जाको विवरण हेर्ने तथा नयाँ कर्जाका लागि आवेदन दिनेलगायतका सेवा मोबाइल एपमार्फत उपलब्ध गराउने तयारी गरिएको छ।

नयाँ कर्जाका लागि आवेदन दिँदा आवश्यक कागजात डिजिटल माध्यमबाटै पेश गर्न सकिने तथा कर्जाको प्रक्रियाबारे जानकारीसमेत मोबाइलबाट प्राप्त गर्न सकिने भएकाले सदस्यले पटक–पटक कार्यालय वा सेवा केन्द्र धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

सम्झौतापछि प्रतिक्रिया दिँदै एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती*ले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए। उनले सहकार्यले एनएमसीका सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। *(उप्रेती राष्ट्रिय सहकारी बैंक लिमिटेडमा निर्वाचित भएपछि संस्थाको जिम्मेवारीबाट अलग भएका छन्।)

त्यसैगरी एम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले डिजिटल वित्तीय पहुँच विस्तार गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई निरन्तरता दिँदै सहकार्यलाई मोबाइल बैंकिङ सेवा विस्तारमा मात्र सीमित नराखिएको बताए।

उनले सहकारी क्षेत्रलाई डिजिटल युगमा रूपान्तरण गर्ने अभियानअन्तर्गत बैंकिङ, भुक्तानी र कर्जालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गरी सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए।

एम बैंकका अनुसार सहकार्यले एनएमसीको ठूलो सदस्य आधारलाई आधुनिक डिजिटल वित्तीय सेवासँग जोड्नुका साथै नेपालको डिजिटल वित्तीय प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ। कम्पनीले सहकारी, लघुवित्त तथा अन्य वित्तीय संस्थाका लागि आधुनिक बैंकिङ, भुक्तानी तथा डिजिटल कर्जा समाधान विस्तार गर्ने अभियानलाई समेत यस सहकार्यले थप गति दिने जनाएको छ।

एम बैंकबारे
एम बैंकले विगत एक दशकदेखि सहकारी, लघुवित्त तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, क्यूआर भुक्तानी, डिजिटल कर्जालगायतका वित्तीय प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

एनएमसीबारे
एनएमसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालका अग्रणी बहुउद्देश्यीय सहकारी संस्थामध्ये एक हो। संस्थाले बचत तथा ऋण, कृषि, दुग्ध, चिया, विप्रेषण तथा विभिन्न सामुदायिक सेवामार्फत डेढ लाखभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

सहकारीको डिजिटल सहयात्री ‘एम बैंक’ : नवप्रवर्तन, विकास र विश्वासको ११ वर्षे यात्रा

थप समाचार