Below Menu

४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल, दैनिक उपभोग्य वस्तुमा ५ रुपैयाँसम्म छुट

४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल, दैनिक उपभोग्य वस्तुमा ५ रुपैयाँसम्म छुट

काठमाडौं : सरकारले विगतका वर्षमा दशैँ-तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ ।

उपभोक्तालाई वर्षभरी नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ । चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । 

दशैँ–तिहारको मुख्य खरिद अवधि शुरु हुनुअघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ । 

भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदा उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन् । विशेषगरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रतिकिलो पाँच रुपैयाँको छुटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ । 

खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो तथा प्रतिलिटर पाँच रुपैयाँसम्म छुट उपलब्ध गराइनेछ । यसबाट विशेषगरी चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक खाद्यवस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । 

सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दैनिक उपभोगमा आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

थप समाचार