काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्था लि.को ३६औँ वार्षिकोत्सवको अवसरमा नेपालमा सहकारी क्षेत्रमै पहिलोपटक भर्चुअल कार्डमार्फत सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाको शुभारम्भ राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले गरेका हुन्।
संस्थाले सदस्यलाई थप प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले भर्चुअल कार्ड सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
३६औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार गैँडाकोटमा सञ्चालक, केन्द्रीय उपसमिति तथा सेवा केन्द्र उपसमितिबीच म्युजिकल चियर प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो। साथै संस्थाका २४ वटै सेवा केन्द्रमा दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले विकू उत्कृष्ट सहकारीका रूपमा स्थापित भएको बताए। सक्षम नेतृत्व, कुशल व्यवस्थापन, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले उपलब्धि हासिल गर्न सकेको उनको भनाइ थियो। विकूले गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउँदै उनले संस्थाले वित्तीय, प्रविधि र स्वास्थ्य साक्षरतामा जोड दिँदै आएकोमा खुसी व्यक्त गरे।

संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकूलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, चितवन जिल्ला सहकारी संघका अध्यक्ष शरदकुमार बर्तौला, नवलपुर जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुली, नवलपुर जिल्ला बचत संघका अध्यक्ष बद्रिनाथ नेपाल, चितवन जिल्ला बचत संघका अध्यक्ष विद्या कोइराला, जिल्ला उद्योग वाणिज्य संघ, गैँडाकोटका अध्यक्ष छविलाल कंडेल, विजय सामुदायिक सूचना सञ्चार सहकारी संस्थाका लि.का अध्यक्ष त्रिलोचन सापकोटा, इन्फो डेभ्लपर्सका प्रमुख कार्यकारी निर्देशक प्रजय नेपाल, एससिटि नेटवर्कका सुबोध न्यौपाने, डा. शुसिल कोइराला तथा दियालो सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक पूर्णबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधि, विजय परिवारका सदस्य संस्थाका प्रतिनिधि, विकूका संस्थापक, पूर्व सञ्चालक समिति तथा उपसमितिका पदाधिकारी, सेयर सदस्य र पत्रकारलगायतको उपस्थिति थियो। संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले सहजीकरण गरेका थिए।
वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारीतर्फ धनमाया न्यौपाने, बासुदेव ढकाल, कुसुम न्यौपाने, अस्मिता खड्का र गोमा कुमारी लुइटेललाई सम्मान गरिएको थियो। त्यस्तै, उत्कृष्ट सेवा केन्द्र प्रमुखतर्फ खगेन्दर ठाडा मगर, उत्कृष्ट सेवा केन्द्रतर्फ गरिमा सेवा केन्द्र, उत्कृष्ट व्यवस्थापन उपसमितितर्फ स्वागत सेवा केन्द्र, उत्कृष्ट सिक्स एस मूल्याङ्कनतर्फ कालिगण्डकी सेवा केन्द्र, सदस्य विस्तारतर्फ कावासोती सेवा केन्द्र तथा प्रविधि प्रयोग र नियमित बचतमा सदस्यको उच्चतम सहभागितातर्फ अमरापुरी सेवा केन्द्रलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

सेवा केन्द्रस्तरीय हाजिरीजवाफ प्रतियोगितामा केन्द्रीय सेवा केन्द्र प्रथम, हिमकिरण सेवा केन्द्र द्वितीय र श्रीगणेश सेवा केन्द्र तृतीय भएका थिए।
वार्षिकोत्सवअन्तर्गत संस्थाले यसअघि तीन चरणमा वक्तृत्वकला प्रतियोगिता, रक्तदान कार्यक्रम, मानव सेवा सहयोग कार्यक्रम, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको थियो।
२०४८ सालमा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब १ लाख ५० हजार सदस्यलाई आधुनिक तथा प्रविधिमैत्री वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ।