Below Menu

नाडा अटो शोमा जी१ र गो२ रोबोट मुख्य आकर्षण, चार्जिङ नेटवर्क पनि देखाइने

नाडा अटो शोमा जी१ र गो२ रोबोट मुख्य आकर्षण, चार्जिङ नेटवर्क पनि देखाइने

काठमाडौं : यही भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट मुख्य आकर्षणका रूपमा रहनेछन्। 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको अटो शोमा  रोबोट मात्र होइन, नेपालमा तीव्र रूपमा बढिरहेको विद्युतीय सवारी बजार र त्यससँग जोडिएको चार्जिङ पूर्वाधार पनि रहने जनाइएको छ । 

नेपालमा अहिलेसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्। निजी आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्। नेपालमा आयात हुने विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन्। बाँकी मुख्यतः भारतबाट आयात हुन्छन्।

विद्युतीय सवारीको संख्या बढे पनि त्यसअनुसार चार्जिङ पूर्वाधार विस्तार हुन नसकेको विषय नाडा नेतृत्वले स्वीकार गर्दै आएको छ। यसपटकको नाडा अटो शोमा सवारीसाधनसँगै चार्जिङ पूर्वाधारको अवस्थालाई पनि एउटै प्रदर्शनीस्थलमा देखाइनेछ।

प्रदर्शनीमा विभिन्न मूल्य र आकारका विद्युतीय तथा हाइब्रिड सवारीसाधन राखिनेछन्। बीवाईडी, स्टेलान्टिसको लगानी रहेको लीपमोटर, जीली, एमजी र वुलिङका मोडल प्रदर्शनीमा रहनेछन्। सहरी प्रयोगका लागि बनाइएका माइक्रो ईभी पनि प्रदर्शनीमा देख्न पाइनेछ।

दुईपाङ्ग्रे सवारीतर्फ कनेक्टेड विद्युतीय मोटरसाइकल रिभोल्ट तथा नेपालमै डिजाइन र एसेम्बल हुने यात्रीले सहभागिता जनाउनेछन्। चार्जिङ पूर्वाधारतर्फ प्रदर्शनीका आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जरसहित एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन्।

नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारको विकासभन्दा छिटो भित्रिएको बताएका छन्। उनका अनुसार अटो शोले सवारीसाधन, चार्जर र यी दुवैका लागि वित्तीय सेवा उपलब्ध गराउने पक्षलाई एउटै ठाउँमा ल्याएर छलफल गर्ने अवसर दिनेछ।

विद्युतीय सवारीसँग सम्बन्धित कर प्रणालीमा पनि परिवर्तन भएको छ। यसअघि मोटरको किलोवाट क्षमताका आधारमा निर्धारण हुँदै आएको आयात कर अब सवारीको मूल्यमा आधारित ‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेवी’ प्रणालीमा सरेको छ।

नाडा अटो शोमा विद्युतीय सवारी, चार्जिङ पूर्वाधार र नयाँ कर प्रणालीसँग सम्बन्धित पक्ष सहभागी हुने भएकाले प्रदर्शनीमा बजारको विस्तारसँगै त्यसलाई धान्ने पूर्वाधार र नीतिगत विषयमा पनि छलफल हुने भएको छ।

थप समाचार